२०८३, आश्विन २२ गते

बिहिवार, आश्विन २२ गते २०८३

कांग्रेस महाधिवेशन प्रतिनिधि निलहरि बाँस्तोला भन्छन्,–‘महाधिवेशनबाट योग्य नेतृत्व चयन होस्’

बुधवार , आश्विन २१, २०८३

काठमाडौं, २१ असोज । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि निलहरि बाँस्तोलाले पार्टीको १५औँ महाधिवेशनबाट योग्य, सक्षम र पार्टीलाई सही दिशामा अघि बढाउन सक्ने नेतृत्व चयन हुनुपर्ने बताएका छन् । 

कांग्रेसको पर्यटन क्षेत्रको प्रतिनिधित्व गर्दै महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी बाँस्तोलाले कांग्रेसको आगामी नेतृत्व चयन पार्टीको संगठन सुदृढीकरण, लोकतान्त्रिक मूल्य–मान्यता र जनताको अपेक्षालाई केन्द्रमा राखेर हुनुपर्ने बताएका हुन् । 

उनले महाधिवेशनलाई केवल नेतृत्व परिवर्तन गर्ने अवसरका रूपमा नभई पार्टीको आगामी कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्नेमा जोड दिएका छन् । 

बाँस्तोलाले नेपालको ग्रामीण र दुरदराजका जनतालाई कांग्रेसले बोकेर हिँड्नसक्ने नेतृत्व अहिलेको आवश्यकता भएको बताए ।  पार्टीलाई समयअनुकूल रूपमा अघि बढाउन सक्ने, कार्यकर्ताको भावना बुझ्ने र जनतासँगको सम्बन्ध थप मजबुत बनाउन सक्ने नेतृत्व आवश्यक रहेको उनको भनाइ छ । 

बाँस्तोलाले महाधिवेशन प्रतिनिधिहरूले उम्मेदवारको क्षमता, योगदान, विचार र पार्टीप्रतिको प्रतिबद्धतालाई आधार बनाएर नेतृत्व चयन गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । 

उनका अनुसार कांग्रेसको आगामी नेतृत्वले पार्टीभित्रको एकता मजबुत बनाउँदै संगठन विस्तार, युवा सहभागिता र जनताका मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने आवश्यकता छ । 
कांग्रेस १५ औँ महाधिवेशन अन्तर्गत भोलि अुसोज २२ गते नेतृत्व चयनका लागि मतदान हुँदैछ ।

ताजा अपडेट

चर्चित

सम्बन्धित समाचार