काठमाडौं, २० असोज । नेपाली कांग्रेसका नेता तथा रसुवाबाट प्रतिनिधिसभा सदस्य मोहन आचार्यले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै आचार्यले केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो । आचार्य यसअघि पनि कांग्रेसको केन्द्रीय सदस्यका रूपमा जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । उहाँ १४ औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य निर्वाचित हुनुभएको थियो भने विशेष महाधिवेनबाट पनि केन्द्रीय सदस्य हुनुहुन्थ्यो । यसअघि उहाँ चारपटक महाधिवेशन प्रतिनिधी र तीन पटक महासमिति सदस्य भइसक्नुभएको छ ।
रसुवा क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा निर्वाचित आचार्यले २०८२ सालको निर्वाचनमा १० हजार ६५६ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको थियो । उहाँ २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा समेत रसुवाबाट निर्वाचित हुनुभएको थियो ।
आचार्यको राजनीतिक यात्रा नेपाल विद्यार्थी संघमार्फत अघि बढेको हो । उहाँ कांग्रेस महासमिति सदस्य हुँदै केन्द्रीय राजनीतिमा पुग्नुभएको हो । संसदमा रहँदा उहाँले सार्वजनिक लेखा समितिको सदस्यका रूपमा समेत जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।
पार्टीको केन्द्रीय सदस्यमा पुनः उम्मेदवारी घोषणा गर्दै आचार्यले कांग्रेसलाई थप सुदृढ, एकताबद्ध र जनमुखी बनाउन आफ्नो भूमिका प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।