काठमाडौँ, १५ असोज । नेपाली कांग्रेसको संस्थापन इतर पक्षको काठमाडौँ महानगरपालिका–२६ को वडा अधिवेशन सम्पन्न गरेको छ ।
वडा संयोजक सोजेशमान मालाकारको सभापतित्वमा भएको अधिवेशनको उद्घाटन कांग्रेस काठमाडौँका पूर्व सभापति एवम् पूर्वमन्त्री भीमसेनदास प्रधानले गरे ।
अधिवेशन उद्घाटन गर्दै पूर्वमन्त्री प्रधानले विशेष महाधिवेशनका नाममा गरिएको अवैधानिक गतिविधिले पार्टी संकटमा परेको बताए । पार्टीको अधिकारिकता सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको उनको भनाई थियो ।
नेता प्रधानले पार्टी मिलाउने बल वर्तमान पार्टी सभापति गगनकुमार थापाको कोर्टमा रहेको बताए । निर्वाचन जित्न कांग्रेस एकतावद्ध हुनुपर्ने उनको भनाई थियो । मुलुकको विकासका लागि युवा पुस्तालाई अगाडि बढाउनुपर्ने नेता प्रधानले बताए ।
नेपाली कांग्रेस क्षेत्र नं. ६ का नेता कृष्णमान श्रेष्ठले कांग्रेसको आधिकारीता विवाद अदालतसँग भएकाले संगठन निर्माणमा लाग्नुपर्ने बताए । उच्च मनोवलका साथ अधिवेशनमा सहभागी हुन उनले सबैलाई आग्रह गरे ।
नेपाली कांग्रेस क्षेत्र नं. ६ का संयोजक सरोजकुमार बस्नेतले पार्टीलाई जीवन्त राख्नका लागि वडा अधिवेशनले सहयोग पुग्ने बताए । कांग्रेस महाधिवेशन प्रतिनिधी गोविन्द परियारले सरकार र पार्टी संकटमा परेको भन्दै उच्च मनोवलका साथ काम गर्नेृ बेला आएको बताए ।
अधिवेशनले सोजेशमान मालाकारको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । यस्तै, क्षेत्रीय प्रतिनिधीमा पेम्बा तामाङ, गोविन्द परियार, अमित पाण्डे, कृतिका तामाङ, चन्द्र क्षेत्री, मिनबहादुर गुरुङ, चोकबहादुर थापा, शान्ति लामिछाने, राजु शाही, रचना शाही, रोजिना प्रधान चयन भएका छन् ।