काठमाडौँ, १८ असोज । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा विजयबहादुर स्वाँरले उम्मेदवारी दिने भएका छन् ।
कांग्रेसको आजदेखि सुरु भएको १५ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत हुन लागेको निर्वाचनमा वर्तमान केन्द्रीय कार्यसमितिका सदस्य स्वाँरले पुनः केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेका हुन् ।
स्वाँर कैलाली निर्वाचन क्षेत्र नं. २ बाट पार्टीको १५ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा समेत सक्रिय रहँदै आएका छन् ।
स्वाँर गत फागुनमा सम्पन्न प्रतिनिधीसभा निर्वाचनमा कैलाली क्षेत्र नं २ बाट कांग्रेसको उम्मेदवार बनेका थिए । यातायात मजदुर, नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको केन्द्रीय अध्यक्ष हुँदै पार्टीको केन्द्रीय तहमा पुगेका नेता स्वाँर पार्टीभित्र सरल र सादगी नेताका रुपमा चिनिन्छन् ।