२०८३, आश्विन २१ गते

बुधवार, आश्विन २१ गते २०८३

चर्चित महिला नेत्री निर्मला क्षेत्री कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार

मंगलवार , आश्विन २०, २०८३

काठमाडौं, २० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा निर्मला क्षेत्रीले केन्द्रीय सदस्य (खुला महिला) तर्फबाट उम्मेदवारी घोषणा गरेकी छन्। पार्टी संगठनलाई थप सुदृढ बनाउँदै नीति निर्माणमा महिलाको प्रभावकारी र सशक्त सहभागिता सुनिश्चित गर्ने उद्देश्यसहित उनले आफ्नो उम्मेदवारी अघि सारेकी हुन्।

राजनीतिक तथा संगठनात्मक क्षेत्रमा लामो समयदेखि सक्रिय क्षेत्री लुम्बिनी प्रदेशकी पूर्व प्रदेश सांसद तथा सचेतक, नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा प्रवक्ता, नेपाली कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागकी सचिव, नेपाली कांग्रेस जिल्ला पूर्व सहसचिव तथा महासमिति सदस्यका रूपमा जिम्मेवारी निर्वाह गरिसकेकी छन्।

क्षेत्रीले पार्टीको नीति निर्माणमा महिलाको सशक्त आवाज स्थापित गर्न, संगठनलाई थप गतिशील र व्यवस्थित बनाउन तथा जनताको हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले आफ्नो राजनीतिक यात्रामा प्राप्त अनुभवलाई पार्टीको संस्थागत विकास र समग्र कांग्रेसलाई थप बलियो बनाउने अभियानमा उपयोग गर्ने बताएकी छन्।

 “तपाईंहरूको माया, विश्वास र अमूल्य मत नै मेरो शक्ति हो,” क्षेत्रीले भनेकी छन्, “पार्टीको नीति निर्माणमा महिलाको सशक्त आवाज, संगठनको सुदृढीकरण र जनताको हितमा निरन्तर समर्पित रहनेछु।”

आफूलाई विश्वास गरी सहयोग र मत प्रदान गर्न उनले महाधिवेशनका सम्पूर्ण प्रतिनिधि तथा मतदातासँग विशेष आग्रहसमेत गरेकी छन्। क्षेत्रीले आफ्नो उम्मेदवारी व्यक्तिगत आकांक्षाभन्दा पनि पार्टीभित्र महिलाको प्रभावकारी प्रतिनिधित्व, संगठनको सुदृढीकरण र जनमुखी राजनीतिलाई थप बलियो बनाउने उद्देश्यमा केन्द्रित रहेको बताएकी छन्।

“मलाई विश्वास गरेर अमूल्य मत प्रदान गर्नुहुनेछ भन्ने अपेक्षा राखेकी छु,” उनले भनिन्, “तपाईंहरूको साथ, विश्वास र सहयोगलाई पार्टी र जनताको हितमा इमानदारीपूर्वक उपयोग गर्नेछु।”

क्षेत्रीले महाधिवेशन प्रतिनिधिहरूलाई आफूलाई केन्द्रीय सदस्य (खुला महिला) पदमा विजयी गराउन मतदानका लागि हार्दिक अनुरोध गरेकी छन्।

ताजा अपडेट

चर्चित

सम्बन्धित समाचार