२०८३, आश्विन २१ गते

बुधवार, आश्विन २१ गते २०८३

कांग्रेसका लोकप्रिय नेता गणेश लामा केन्द्रीय सदस्यको उम्मेदवार

सोमवार , आश्विन १९, २०८३

काठमाडौँ, १९ असोज । नेपाली कांग्रेसका लोकप्रिय नेता गणेश लामाले केन्द्रीय सदस्य (खुलातर्फ) उम्मेदवारी दिने भएका छन् । 

कांग्रेसमा रहेर लामो समय योगदान गरेका लामाले पार्टीको १५औँ महाधिवेशनमा खुल्लातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । 

पार्टीको १५ औँ महाधिवेशनमा स्वयम्सेवक व्यवस्थापन समितिका संयोजकसमेत रहेका लामाले पार्टीमा लामो समयदेखि सक्रिय रहेर काम गरेको अनुभव रहेको बताउँदै आफ्नो उम्मेदवारी खुल्ला केन्द्रीय सदस्यका लागि रहने स्पष्ट पारे । 

उनले यसअघि दुई पटक महाधिवेशन प्रतिनिधि, दुई पटक महासमिति सदस्य र दुई पटक पार्टीको केन्द्रीय समितिमा रहेर काम गरिसकेका छन् । 

नेता लामाले आफ्नो जितका आधारहरूबारे आज सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीमा पु¥याएको निरन्तर योगदान र १४ औँ महाधिवेशनपछि सञ्चालन भएका विभिन्न अभियानमा सक्रिय सहभागितालाई प्रमुख आधार बनाएका छन् । 

‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ लगायतका अभियानका क्रममा दोलखा, मनाङ, सर्लाही जस्ता देशका विभिन्न जिल्लाहरूमा पुगेर संगठन सुदृढीकरणमा खटिएको उनको भनाई छ । 

जिल्ला–जिल्लामा पुगेर कार्यकर्ताहरूसँग प्रत्यक्ष घुलमिल भएको र संगठनलाई कसरी अझ बलियो बनाउन सकिन्छ भन्ने स्पष्ट अनुभव हासिल गरेकाले महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य साथीहरूले आफूलाई पूर्ण विश्वास र समर्थन गर्नेमा उनी विश्वस्त छन् ।   

उनले कांग्रेसले पार्टीलाई नयाँ ढङ्गबाट रूपान्तरण गर्दै ’नयाँ र फरक कांग्रेस’ निर्माणको अभियान अघि बढाएको बताए ।  पार्टी विधान परिमार्जनमार्फत तल्लो तहदेखि केन्द्रसम्म नै महिला, युवा, श्रमिक तथा प्रजातान्त्रिक सेनानीहरूलगायत सबै क्लस्टरको प्रतिनिधित्व सुनिश्चित गर्ने नीति लिइएको उनको भनाई छ । 

उनका अनुसार महामन्त्रीदेखि उपसभापतिसम्म महिलाको कोटा निर्धारण गरिएको छ भने पुराना पुस्ताका योगदानलाई सम्मान गर्दै प्रजातान्त्रिक सेनानी र वरिष्ठ नेताहरूका लागि पनि उचित स्थान मिलाइएको छ । 

हाल ९ लाखभन्दा बढी क्रियाशील सदस्य रहेको देशकै सबैभन्दा जेष्ठ र ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले पछिल्लो जनभावना र जेन्जी आन्दोलनपछिको परिवर्तनलाई आत्मसात् गर्दै आफूलाई परिमार्जित गर्न थालेको उनले बताए । 

अग्रज नेताहरूको अनुभव र परामर्शका साथै युवाहरूको ऊर्जालाई एकीकृत गर्दै अघि बढ्ने लक्ष्य लिइएको उनले बताए । युवा नेतृत्वको प्राथमिकतालाई ध्यानमा राख्दै पार्टी सभापति गगनकुमार थापाको नेतृत्वमा युवा वर्गलाई विशेष प्राथमिकता दिएर सङ्गठन सुदृढीकरण भइरहेको लामाले बताए । 

पछिल्लो समय विभिन्न क्षेत्रको व्यवस्थापकीय प्रणालीमा पहिलेभन्दा उल्लेखनीय सुधार र परिवर्तन आएको उनको भनाई छ । व्यवस्थापनमा आएको यो सकारात्मक परिवर्तनले आगामी दिनमा कार्य सम्पादनलाई अझ सहज र व्यवस्थित बनाउने अपेक्षा लामाले गरेका छन् । 

 

ताजा अपडेट

चर्चित

सम्बन्धित समाचार