काठमाडौं, १९ असोज । नेपाली कांग्रेसका लमजुङका चर्चित नेता तुलसीनारायण श्रेष्ठले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य (खुला) पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
लामो समयदेखि नेपाली कांग्रेसको संगठन निर्माण, पार्टी सुदृढीकरण तथा लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएका श्रेष्ठले पार्टीलाई थप सशक्त, व्यवस्थित र जनमुखी बनाउन आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताएका हुन् ।
लमजुङमा कांग्रेसको संगठन विस्तार र पार्टी गतिविधिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका श्रेष्ठलाई जिल्लामा प्रभावशाली तथा अनुभवी नेताका रूपमा लिइन्छ । पार्टीको नीति, सिद्धान्त र संगठनलाई समयानुकूल बनाउँदै युवा पुस्तालाई पार्टीमा थप आकर्षित गर्ने तथा कार्यकर्ताको भूमिका र सम्मानलाई मजबुत बनाउने आफ्नो प्राथमिकता रहेको श्रेष्ठको भनाइ छ ।
लमजुङ कांग्रेसमा लामो समयदेखि सक्रिय श्रेष्ठको केन्द्रीय सदस्य पदमा उम्मेदवारीलाई जिल्लाका कांग्रेस नेता–कार्यकर्ताले समेत चासोका साथ हेरेका छन् । श्रेष्ठको उम्मेदवारीले पार्टीको केन्द्रीय नेतृत्वमा लमजुङको प्रतिनिधित्व थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
श्रेष्ठले पार्टीलाई एकताबद्ध गर्दै संगठनलाई जनताको भावना र आवश्यकतासँग जोडेर अघि बढाउन आफू प्रतिबद्ध रहेको बताएका छन् ।