काठमाडौँ, ३० वैशाख । देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ बागमती प्रदेशको संयोजकमा सुवन गिरी निर्वाचित हुनुभएको छ ।
महासंघको आज पोखरामा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनको निर्वाचनमा आफ्नो प्रतिस्पर्धीलाई हराउँदै उहाँ निर्वाचित हुनुभएको हो । गिरी यसअघि पनि बागमती प्रदेशको संयोजक हुनुहुन्थ्यो ।
निर्वाचनपछि सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक गिरीले यातायात व्यवसायीहरूको हक, हित र अधिकारका लागि आफू सधैं समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उहाँले आफूलाई विजयी गराउन महत्वपूर्ण भूमिका खेल्ने सम्पूर्ण यातायात व्यवसायी, अग्रज, प्रतिनिधि, शुभेच्छुक तथा सञ्चारकर्मीहरूप्रति हृदयदेखि नै कृतज्ञता प्रकट गर्नुभएको छ ।
“तपाईंहरूले ममाथि देखाउनुभएको भरोसा केवल एउटा मत मात्र होइन, यो एउटा ठूलो जिम्मेवारी र विश्वास पनि हो, म यो विश्वासलाई कहिल्यै टुट्न दिने छैन र आगामी दिनमा यातायात व्यवसायीको सुरक्षा र सम्मानका लागि अझ मजबुत आवाज बनेर अगाडि बढ्नेछु,”– उहाँले भन्नुभयो ।
संयोजक गिरीले विजय आफ्नो व्यक्तिगत विजय मात्र नभई सम्पूर्ण यातायात व्यवसायीको एकता, विश्वास र परिवर्तनको चाहनाको जित भएको उल्लेख गर्नुभयो । उहाँले निर्वाचनको दौरान प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै इमान्दारिता, निष्ठा र समर्पणका साथ आफ्नो कार्यकाल पूरा गर्ने अठोट समेत व्यक्त गर्नुभएको छ ।





















