पोखरा, २९ वैशाख । देशभरका यातायायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको उपमहासचिवमा पुरुषोत्तम सिंखडाले उम्मेदवारी दिनुभएको छ ।
लामो समयदेखि नेपालको यातायात क्षेत्रमा सक्रिय सिंखडाले पोखरामा हुँदै गरेको महासंघको सातौँ महाधिवेशनमा उपमहासचिव पदको उम्मेदवारी दिनुभएको हो । ‘सुरक्षित यात्रा, व्यवस्थित यातायात र समृद्ध नेपाल’ भन्ने मुख्य संकल्पका साथ सिंखडा चुनावी मैदानमा होमिनुभएको हो ।
लामो समयदेखि यातायात क्षेत्रमा सक्रिय रहेका सिंखडाले सार्वजनिक यातायातलाई सबैको पहुँचमा पु¥याउने र यस क्षेत्रलाई मर्यादित एवं आधुनिक बनाउने योजना अघि सार्नुभएको छ । सार्वजनिक यातायात सबैका लागि, समृद्ध देशका लागि भन्ने नारालाई उनले आफ्नो चुनावी अभियानको मूल मन्त्र बनाएका छन् ।
सिंखडाका मुख्य प्रतिवद्धताहरु
१) आधुनिकीकरण र डिजिटल प्रणालीः यातायात क्षेत्रमा डिजिटल प्रणाली र स्मार्ट टिकेटिङको विस्तार गरी यात्रुमैत्री सेवा सुनिश्चित गर्ने ।
२) व्यवसायीको हकहितः यातायात व्यवसायीहरूको हकहितको संरक्षण, कानुनी सुरक्षा र नीतिगत सुधारका लागि पहल गर्ने ।
३) सुरक्षित र गुणस्तरीय सेवाः आधुनिक, सुरक्षित र गुणस्तरीय सार्वजनिक यातायातको विकासमा जोड दिने ।
४) वातावरणमैत्री यातायातः वातावरण मैत्री, हरित र दिगो यातायात प्रणालीलाई प्रवद्र्धन गर्ने ।
५) पारदर्शिता र एकताः महासंघभित्र पारदर्शी व्यवस्थापन, व्यवसायीहरूबीच एकता र सशक्त संगठन निर्माण गर्ने ।
६) क्षमता विकासः युवा उद्यमशीलता प्रवद्र्धन, तालिम, बीमा र वित्तीय पहुँचको विस्तारमा काम गर्ने ।
सिंखडाले सरकार र व्यवसायीबीचको सहकार्यलाई प्रभावकारी बनाउँदै सार्वजनिक यातायातमा नयाँ युगको सुरुवात गर्ने अठोट व्यक्त गर्नुभएको छ । ‘हाम्रो एकता, हाम्रो शक्ति; हाम्रो यातायात, हाम्रो समृद्धि’ भन्दै उहाँले सम्पूर्ण यातायात व्यवसायीलाई आफूलाई अमूल्य मत दिई विजयी गराउन अपिल गर्नुभएको छ ।
























