काठमाडौँ, १० असार । नेपालको प्रविधि क्षेत्रमा क्रियाशील आरोग्य नेपाल टेक प्रालिले व्यक्तिगत तथा सामुदायिक स्वास्थ्य सेवालाई थप सहज र प्रभावकारी बनाउने उद्देश्यले ‘प्रान सेन्स कम्पेनियन एप्स’सञ्चालनमा ल्याएको छ ।
प्रालिका सञ्चालक शिव पौडेलले ‘प्रान सेन्स कम्पेनियन एप्स’ एक पोर्टेबल स्वास्थ्य निगरानी उपकरण भएको बताउनुभयो । उक्त उपकरणले डिजिटल स्वास्थ्य सेवाको क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको सञ्चालक पौडेलले बताउनुभयो ।
विशेष गरी ग्रामीण दुरदराजमा रहेका नागरिकलाई सहज रूपमा स्वास्थ चेकजाँच गरि समयमै रोग निदान गर्न उपकरण फलदायी हुने बताइएको छ । उक्त उपकरणले दैनिक स्वास्थ्य निगरानी, प्राथमिक स्वास्थ्य सेवा र सामुदायिक स्वास्थ्य व्यवस्थापनका लागि समेत उत्तिकै उपयोगी रहेको आरोग्य नेपालले जनाएको छ ।
प्रान सेन्स एपमार्फत प्रयोगकर्ताले घरमै बसेर नियमित रूपमा आफ्नो रक्तचाप,, अक्सिजन स्तर, मुटुको धड्कन, शरीरको तापक्रम तथा अन्य महत्वपूर्ण स्वास्थ्य सूचकको निगरानी गर्न सक्ने सञ्चालक पौडेलले बताउनुभयो ।
उक्त प्रविधि विशेष गरी ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था टाढाबाटै अनुगमन गर्न परिवारका सदस्य र स्वास्थ्यकर्मीका लागि वरदान सावित हुने बताइएको छ ।
यसैगरी, सीमित स्वास्थ्य पूर्वाधार भएका नेपालका ग्रामीण स्वास्थ्य चौकीमा प्राथमिक स्वास्थ्य परीक्षण र प्रारम्भिक रोग पहिचानका लागि यो उपकरण अत्यन्तै उपयोगी हुनेछ । मोबाइल स्वास्थ्य शिविरमा यसको प्रयोगले छिटो र व्यवस्थित रूपमा स्वास्थ्य परीक्षण गर्न सहज हुने कम्पनीले जनाएको छ ।
उक्त प्रविधिको अर्को महत्वपूर्ण पक्ष एम्बुलेन्स तथा आपतकालीन उद्धार सेवामा यसको भूमिका हो । एम्बुलेन्समा बिरामी ओसारपसार गर्दा स्वास्थ्यकर्मीले रियल–टाइममा बिरामीको ईसीजी, पल्स रेट र अक्सिजनको मात्रा निगरानी गर्न सक्नेछन् । यी विवरणहरू अस्पताल वा विशेषज्ञ चिकित्सकलाई बिरामी पुग्नुअगावै डिजिटल माध्यमबाट पठाउन सकिने भएकाले अस्पताल पुग्नेबित्तिकै उपचार सुरु गर्न सहज हुने बताइएको छ ।
यसबाहेक नेपालको पर्यटन क्षेत्र, विशेष गरी पदयात्रामा पर्यटकको स्वास्थ्य अवस्था नियमित रूपमा निगरानी गरी उचाइजन्य स्वास्थ्य समस्याको प्रारम्भिक पहिचान गर्न यो उपकरणले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।
आरोग्य नेपालले आगामी दिनमा यस प्रणालीमा कृत्रिम बुद्धिमत्ता (एआई), टेलिमेडिसिन र क्लाउड–आधारित स्वास्थ्य व्यवस्थापनलाई थप विस्तार गरिने बताएको छ । कम्पनीको मुख्य लक्ष्य नेपालका दुर्गम बस्तीहरूसम्म गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउनु रहेको सञ्चालक पौडेलले बताउनुभयो ।
‘तपाईंको स्वास्थ्य, जहाँसुकै, जुनसुकै बेला’ भन्ने मूल नाराका साथ आएको यो प्रविधिले नेपालको स्वास्थ्य क्षेत्रलाई प्रविधिमैत्री बनाउन ठूलो योगदान पु¥याउने अपेक्षा गरिएको छ ।























