काठमाडौँ, २४ जेठ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा मेघनाथ भुर्तेलको नेतृत्वमा रहेको प्यानललाई मतदान गर्न आफ्ना सदस्यलाई आग्रह गरेको छ ।
बिहीबार सम्पन्न हुन गइरहेको विशेष साधारणसभा तथा निर्वाचनको सन्दर्भमा एसोसिएसनका अध्यक्ष दीपक थापाले एक विज्ञप्ति जारी गर्दै आधिकारिक उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभएको हो ।
एसोसिएसनले कार्यसमितिको पूर्ण बहुमतको निर्णयानुसार भुर्तेलको नेतृत्वमा १७ सदस्यीय प्रत्यासीको उम्मेदवारी दर्ता गरिसकेको जनाएको छ । “एसोसिएसनको निर्णयलाई लत्याएर अर्को समूहमा गई साथ समर्थन गर्ने वा उम्मेदवार बनेका सदस्यले यसै सूचनालाई आधार मानी उम्मेदवारी फिर्ता लिई मेघनाथ भुर्तेलको समूहलाई समर्थन गरि मतदान गर्नुहुन हार्दिक अनुरोध गरिन्छ,”– विज्ञप्तीमा भनिएको छ ।
एसोसिएसनले आफ्नो आधिकारिक निर्णय विरूद्ध जाने सदस्यलाई कडा चेतावनी समेत दिएको छ । अध्यक्ष थापाद्वारा जारी विज्ञप्तिमा पार्टी सभापति र महामन्त्रीको निर्देशन बमोजिम यदि कुनै सदस्यले संस्थाको निर्णयको प्रतिकूल हुने गरी मतदान गरेमा वा अन्य पक्षसँग मिलेमा उनीहरूलाई पार्टीको ‘क्रियाशील सदस्यता’ र ‘एसोसिएसनको साधारण सदस्यता’ समेत नरहने गरी निष्कासित गरिने उल्लेख छ ।
विगत लामो समयदेखि लोकतन्त्रको पक्षमा उभिएका व्यवसायीको साझा संस्थाको रूपमा रहेको एसोसिएसनले यस निर्वाचनलाई चुनौती र अवसरको रूपमा लिएको छ । नेपाली कांग्रेससँग वैचारिक निकटता राख्ने यस संस्थाले आफ्नो गरिमा कायम राख्न र संगठनको निर्णय पालना गर्न सम्पूर्ण सदस्य प्रतिनिधिहरूलाई विशेष आग्रह गरेको छ ।






















