काठमाडौँ, २६ असार । नेपालका पर्यटक गाइडहरूको छाता संस्था टुरिष्ट गाइड एशोसियशन नेपाल (टुर्गान)को अध्यक्षमा उत्तमप्रसाद देवकोटाले उम्मेदवारी दिनुभएको छ ।
टुर्गानको असार २७ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन लागेको ३३ औँ वार्षिक साधारणसभा तथा कार्यसमिति निर्वाचनमा बौद्धिक युवा देवकोटाले उम्मेदवारी दिनुभएको हो ।
‘पर्यटनका लागि गाइड, गाइडका लागि प्रतिबद्ध नेतृत्व’ भन्ने मूल नाराका साथ देवकोटाले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै आफ्नो उम्मेदवारी प्रस्तुत गर्नुभएको हो ।
को हुन् उत्तम प्रसाद देवकोटा ?
अध्यक्षका उम्मेदवार देवकोटा पर्यटन क्षेत्रका साथै शैक्षिक र प्रशासनिक क्षेत्रमा लामो अनुभव सँगालेका व्यक्ति हुनुहुन्छ । हाल त्रिभुवन विश्वविद्यालयमा पिएचडी. शोधार्थी रहनुभएका उहाँ नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को पूर्व सिइओ, नेपाल हस्तकला महासंघको पूर्व महानिर्देशक र क्यानभास कलेजको पूर्व क्याम्पस प्रमुख हुनुहुन्छ ।
यी हुन् देवकोटाका मुख्य चुनावी प्रतिबद्धता
देवकोटाले सार्वजनिक गर्नुभएको प्रतिबद्धतामा गाइडहरूको पेशागत सुरक्षा, वृत्ति विकास र संस्थागत सुधारका बुँदाहरू समेटिएका छन् । उहाँका मुख्य योजनाहरू यस प्रकार छन् ।
१) रणनीतिक योजना र क्यालेन्डरः टर्गानको ३ वर्षे रणनीतिक योजना तयार पारी वार्षिक कार्यतालिका अनुसार संस्था सञ्चालन गर्ने ।
२) बीमा र सामाजिक सुरक्षाः जोखिमयुक्त पेशा भएकाले गाइडहरूको अनिवार्य बीमा गर्ने र उनीहरूलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन पहल गर्ने ।
३) महिला गाइड लक्षित कार्यक्रमः महिला गाइडहरूको क्षमता विकास, सुरक्षा र विशिष्ट आवश्यकतालाई ध्यान दिँदै विशेष सुधारका कार्यक्रम ल्याउने ।
४) पारिश्रमिक र वर्गीकरणः गाइडहरूको अनुभव, शैक्षिक योग्यता र कार्य प्रभावकारिताका आधारमा वर्गीकरण गर्ने र समयसापेक्ष पारिश्रमिक वृद्धि गर्ने ।
५) अनाधिकृत गाइड नियन्त्रणः लाइसेन्स नभएका व्यक्तिहरूले गाइडको रूपमा काम गर्ने परिपाटीलाई नियन्त्रण गरी लाइसेन्स प्राप्त गाइडहरूको हकहित सुरक्षित गर्ने ।
६) डिजिटलाइजेशन र पूर्वाधारः टर्गानको सचिवालयलाई व्यवस्थित बनाउने, डाटाबेसलाई डिजिटलाइजेशन गर्ने र ’टर्गान रिसोर्स सेन्टर’ स्थापना गर्ने ।
७) आर्थिक स्वावलम्बन र कल्याणः गाइडहरूका लागि को–अपरेटिभ मोडेलमा कार्यक्रम सञ्चालन गर्ने र कार्यक्षेत्रमा दुर्घटना परी मृत्यु हुने गाइडका छोराछोरीलाई स्नातक तहसम्म निःशुल्क शिक्षाको व्यवस्थाका लागि पहल गर्ने ।
“गाइडको सम्मान, संघको पहिचान, पर्यटनको प्रवद्र्धन हाम्रो अभियान“ भन्ने संकल्पका साथ चुनावी मैदानमा उत्रिएका देवकोटाले टुर्गानलाई एक सबल, पारदर्शी र सदस्यमैत्री संस्था बनाउने दाबी गर्नुभएको छ । उनले सम्पूर्ण पर्यटनकर्मी र टर्गान सदस्यहरूलाई आफूलाई विजयी गराउन अपिल समेत गर्नुभएको छ ।





















