काठमाडौँ, ५ साउन । विश्व सङ्गीत दिवसको अवसर पारेर राजधानीमा आयोजना गरिएको ‘मिस फेसन फ्युजन आईकन २०२६’ को उपाधि परी शाक्यले जितेकी छिन् ।
रेक्स ईन्टरटेन्मेन्ट प्रालिद्वारा आयोजित यस प्रतियोगितामा ललितपुर सुन्धारा निवासी परी शाक्यले मुख्य उपाधिसहित चाँदीको ताज, एक लाख रुपैयाँ नगद, प्रमाणपत्र तथा विभिन्न गिफ्ट ह्याम्परहरू प्राप्त गरिन् ।
ज्ञानेन्द्र ज्योति शाक्य र ज्ञानी शोभा शाक्यकी सुपुत्री परीले मुख्य उपाधिका साथै ‘मिस ट्यालेन्ट’ र ‘बेस्ट ड्रेस’ को सहउपाधि (सव टाइटल) समेत आफ्नो पोल्टामा पारिन् ।
प्रतियोगितामा रविना अर्याल ‘फस्ट रनर अप’ र रचना बुढाथोकी ‘सेकेन्ड रनर अप’ घोषित भए । त्यसैगरी, ‘मिस बागमती प्रदेश’ को उपाधि देवी शाक्यले हात पारिन् ।
वर्षकै लामो दिन तथा विश्व सङ्गीत दिवसको अवसर पारेर नेपाल पुलिस क्लबको ‘द ब्लु पेभीलिएन’ मा आयोजित उक्त कार्यक्रम साङ्गीतिक माहोलका बीच भव्य रूपमा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रख्यात र्यापर निर्णय श्रेष्ठ र चर्चित गायिका प्राश्ना शाक्यको साङ्गीतिक प्रस्तुतिमा दर्शकहरू झुमेका थिए ।
नेवास् एचडी टेलिभिजनमार्फत विश्वभर प्रत्यक्ष प्रसारण गरिएको उक्त कार्यक्रमको सभापतित्व ललितपुरकी पूर्व कुमारी सुमिका बज्राचार्यले गरेकी थिइन् भने प्रमुख अतिथिका रूपमा पूर्व रक्षामन्त्री भीमसेन दास प्रधान उपस्थित थिए ।
आयोजक प्रमुख खगेश रन्जितका अनुसार प्रतियोगिताको निर्णायक मण्डलमा पूर्व कुमारी सुमिका बज्राचार्य, र्यापर निर्णय श्रेष्ठ, गायिका प्राश्ना शाक्य, मिस नेशनल अमृता लामा र मेकअप आर्टिष्ट अश्मिता विश्वकर्मा रहेका थिए ।
दुवै कार्यक्रम (फेसन र म्युजिक डे) लाई एकै दिन संयोजन गर्ने कठिन जिम्मेवारी मोडल सुहाना देउलाले निभाएकी थिइन् । उनको अथक परिश्रमका कारण कार्यक्रम सभ्य र भव्य रूपमा सफल भएको आयोजकले जनाएको छ ।






















