२०८३, श्रावण ३१ गते

आइतवार, श्रावण ३१ गते २०८३

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्रीसाहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल

शनिवार , श्रावण ३०, २०८३

काठमाडौँ, ३० साउन । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले साहित्य, कला तथा संस्कृति क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न आफू पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ ।

 

नुर–गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा आज काठमाडौँमा आयोजित सम्मान तथा पुरस्कार समर्पण एवं कृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले साहित्य, कला र संस्कृति राष्ट्रका गहना भएकाले यसको संरक्षण र प्रवर्द्धनमा सबैको साझा भूमिका आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “साहित्य, कला र संस्कृति भनेका देशका गहना हुन् । यस क्षेत्रको संरक्षण तथा सम्वद्र्धन गर्न म सधैँ तयार छु ।”

 

नेपाली भाषा, साहित्य, कला र संस्कृतिका कारण नेपाल विश्वमा परिचित रहेको उल्लेख गर्दै उहाँले देशका प्रतिभाको संरक्षण र सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । “हाम्रा भाषा, साहित्य नै हाम्रो पहिचान हो”, उहाँले भन्नुभयो, “हामीले हाम्रा संस्कृतिको संरक्षण गर्नुपर्छ ।”

 

सभामुख अर्यालले मुलुकका विभिन्न स्थानमा रहेका तथा अझै उजागर हुन नसकेका प्रतिभा र साहित्यकारको खोजी गरी उनीहरूको प्रतिभालाई राष्ट्रियस्तरमा चिनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

 

कार्यक्रममा नुर–गङ्गा प्रतिभा पुरस्कार गुठीका अध्यक्ष प्रा डा गोविन्द नेपालले गुठीले नेपाली साहित्य क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टालाई सम्मान तथा पुरस्कृत गर्दै आएको जानकारी दिनुभयो । उहाँले नेपाली साहित्यको विकास र प्रवर्द्धनका लागि गुठी निरन्तर सक्रिय रहेको बताउनुभयो ।

 

कार्यक्रममा गुठीका कोषाध्यक्ष एवं सांसद विदुषी राणा, संरक्षक अमिरप्रताप जबरा, सल्लाहकार जानुकी राणा, निवर्तमान अध्यक्ष तथा सल्लाहकार प्रा डा चूडामणि बन्धुलगायतको सहभागिता थियो । सो अवसरमा विभिन्न साहित्यिक विधामा योगदान पुर्‍याएका १० जना स्रष्टालाई नगदसहित सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

 

पुरस्कृत तथा सम्मानित स्रष्टाहरूले साहित्य तथा लोकगीतका क्षेत्रमा आफूहरूले पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएकामा खुसी व्यक्त गर्नुभएको थियो । उहाँहरूले यस्ता पुरस्कार तथा सम्मानले नेपाली साहित्य र लोकसाहित्यका क्षेत्रमा नयाँ पुस्तालाई थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

गण्डकी, ३० साउन । गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न यतिबेला गृहजिल्ला गोरखामा हुनुहुन्छ । आफ्नो निर्वाचन क्षेत्र गोरखा–१ का नागरिकका घरदैलोमा पुगी उहाँले स्थानीयस्तरमा भइरहेका विकास गतिविधि, सार्वजनिक सेवा प्रवाहलगायत विषयमा छलफल गर्नुभएको हो । 

 

शुक्रबार गोरखा आइपुग्नुभएका गृहमन्त्री गुरुङले विकास आयोजनाको अनुगमनसहित जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिनुभएको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले बताउनुभयो । “गृहमन्त्रीको कुनै औपचारिक कार्यक्रम छैन, निर्वाचन क्षेत्र भ्रमणका सिलसिलामा आउनुभएको हो”, उहाँले भन्नुभयो, “नागरिकसँग प्रत्यक्ष भेटघाट र संवाद गरिरहनुभएको छ ।”

 

शनिबार भीमसेन थापा गाउँपालिकाका स्थानीयवासीले सुकुमवासी व्यवस्थापन, नदी डुबानको समस्यालगायत विषय उठाएका थिए । गृहमन्त्री गुरुङले स्थानीयवासीका समस्या र गुनासा समाधानका लागि पहल लिने प्रतिबद्धता जनाउनुभएको थियो । सडक पूर्वाधार, खानेपानी, विद्युत्, सुरक्षा, रासायनिक मल अभाव, विपद् व्यवस्थापन, सार्वजनिक सेवा प्रवाहलगायत विषयमा गृहमन्त्री गुरुङ र स्थानीयवासीबीच छलफल भएको थियो । 

 

भेटघाटका क्रममा उहाँले नागरिकले भोग्दै आएका समस्या पहिचान गरी सम्बन्धित निकार्यमार्फत यथाशक्य छिटो समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । गृहमन्त्री गुरुङले शान्ति सुव्यवस्था कायम गर्दै राज्यका सेवासुविधा छिटो, छरितो र पारदर्शी ढङ्गले नागरिकसम्म पुर्‍याइने बताउनुभयो । गृहमन्त्री गुरुङ आइतबारसम्म आफ्नो निर्वाचन क्षेत्रमा रहने जनाइएको छ ।

ताजा अपडेट

चर्चित

सम्बन्धित समाचार