काठमाडौँ, २४ साउन । दुग्ध विकास संस्थानले काठमाडौँको वनस्थलीमा आफ्नो आठौँ बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ। उपभोक्तालाई संस्थानका दूध तथा दुग्धजन्य पदार्थ सहज रूपमा उपलब्ध गराउने उद्देश्यले नयाँ बिक्री केन्द्र सञ्चालनमा ल्याइएको हो।
बिक्री केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै दुग्ध विकास संस्थानका महाप्रबन्धक डा शरणकुमार पाण्डेले संस्थानका उत्पादन उपभोक्तासम्म सहज रूपमा पुर्याउन यस्ता बिक्री केन्द्र विस्तार गरिँदै आएको बताउनुभयो।
उहाँले बिक्री केन्द्र विस्तारसँगै किसानले उत्पादन गरेको दूधका लागि बजार सुनिश्चित गर्न र स्वदेशी दुग्धजन्य पदार्थको खपत बढाउन सहयोग पुग्ने बताउनुभयो। उपभोक्ताले पनि एउटै स्थानबाट संस्थानका विभिन्न दुग्धजन्य पदार्थ सहज रूपमा खरिद गर्न सक्ने उहाँको भनाइ छ।
पाण्डेले संस्थानले उपभोक्ताको माग र बजारको आवश्यकतालाई हेरेर आगामी दिनमा थप स्थानमा बिक्री केन्द्र विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो।
वनस्थलीमा केन्द्र सञ्चालनमा आएसँगै दुग्ध विकास संस्थानका यस्ता बिक्री केन्द्रको संख्या आठ पुगेको छ। संस्थानले बिक्री केन्द्र विस्तारलाई किसानको दूधको बजार सुनिश्चित गर्ने र उपभोक्तालाई गुणस्तरीय स्वदेशी दुग्धजन्य पदार्थ उपलब्ध गराउने माध्यमका रूपमा अघि बढाएको जनाएको छ।