काठमाडौँ, २८ साउन । नेपाली कांग्रेसको भ्र्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघको महाधिवेशनका लागि गठित ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ को सदस्यमा विजयबहादुर स्वाँर नियुक्त हुनुभएको छ ।
पार्टी सभापति गगनकुमार थापाले सङ्घको केन्द्रीय महाधिवेशन मङ्सिरभित्र सम्पन्न गर्नका लागि केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीको संयोजकत्वमा गठित निर्वाचन समितिमा अष्टकुमार कवे र विजयबहादुर स्वाँरलाई जिम्मेवारी दिनुभएको हो ।
सभापति थापाले स्वाँरलाई नेपाली कांग्रेसको विधान, २०१७ (एघारौं संशोधन सहित) को धारा २५ (२) बमोजिम गठन भएको समितिको सदस्यमा स्वाँरलाई नियुक्त गर्नुभएको हो । समितिलाई विधानतः तदर्थ समितिलाई आवश्यक निर्देशन दिने र महाधिवेशन सुनिश्चित गर्ने जिम्मेवारी सुम्पिएको छ ।
सभापति थापाले नवनियुक्त सदस्यहरूलाई बधाई दिँदै तोकिएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने अपेक्षा राखेका छन् । पत्रमा भनिएको छ, “विभिन्न संगठनहरूलाई विधानसम्मत तवरले सक्रिय बनाउन र तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गराउन यो समितिले महत्वपूर्ण भूमिका खेल्नेछ।”
नेपाली कांग्रेसले आफ्ना भ्रातृ संगठनहरूलाई समयमै अधिवेशन गराई चलायमान बनाउने अभियान स्वरूप यो कदम चालेको हो ।