२०८३, श्रावण २९ गते

शुक्रवार, श्रावण २९ गते २०८३

दश हजार सवारीसाधनलाई लक्षित गरेर बनाइएको सवारी ऐनले अहिले काम गर्दैन, परिमार्जन हुनुपर्छ : अध्यक्ष सिटौला

शनिवार , श्रावण २३, २०८३

काठमाडौँ, २३ साउन । यातायात व्यवसायीहरुले विस २०४९ सालमा बनेको यातायात ऐन परिवर्तन नहुँदा यातायात क्षेत्र समस्यामा परेको बताएका छन् ।

तारकेश्वर यातायात प्रालिको सातौँ साधारणसभा अवसरमा आज यहाँ आयोजित कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुन्यप्रसाद (सरोज) सिटौलाले समयानुकूल यातायात ऐन परिमार्जन गर्नुपर्ने बताउनुभयो ।

“विस २०४९ सालमा १० हजार सवारीसाधनलाई लक्षित गरेर निर्माण गरिएको ऐनले अहिले काम गर्दैन, समयानुकूल उक्त ऐन परिमार्जन हुनुपर्छ,”– अध्यक्ष सिटौलाले भन्नुभयो । यातायात क्षेत्रको सुधारका लागि प्रविधिमैत्री यातायात अहिलेको आवश्यकता भएको उहाँको भनाई छ ।

सार्वजनिक सवारी साधनमा जिपिएस सिस्टम जडान, अनलाइन टिकट बुकिङ, सिसि क्यामरा जडान अनिवार्य रहेको अध्यक्ष सिटौलाले बताउनुभयो । उहाँले चालक तथा सहचालकको सुरक्षाका लागि कडा कानून बनाउन सरकारसँग माग गर्नुभयो ।   

अध्यक्ष सिटौलाले सवारी दुर्घटना भएमा वा कुनै घटना घटेमा चालकहरूमाथि हुने हातपात र कुटपिट रोक्नका लागि प्रहरी र ट्राफिक सरह नै चालक तथा सहचालकको पनि सुरक्षाका लागि आवश्यक कानून बनाउनुपर्ने बताउनुभयो ।

उहाँले यातायात व्यवसायीले विद्यार्थी लगायत दृष्टिविहीन, अपाङ्गता भएका व्यक्ति, महिला र ज्येष्ठ नागरिकलाई सहयोग र छुट उपलब्ध गराउँदै आएकाले सरकारले पनि आफ्नो प्रतिबद्धता अनुसार दिने भनिएको ६० प्रतिशत छुट रकम वा नीति अविलम्ब कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले चालक, सहचालक तथा व्यवसायीलाई यात्रुमैत्री सेवा प्रदान गर्न आग्रह गर्नुभयो ।

प्रहरी वृत्त बालाजुका प्रमुख, प्रहरी नायव उपरीक्षक यमलाल बन्जाडेले यातायात क्षेत्रलाई थप मर्यादित र अनुशासित बनाउनुपर्ने बताउनुभयो । “दुर्घटना मानवीय कारणले मात्र नभई परिस्थिति बस पनि हुनसक्छ तर त्यसलाई न्यूनीकरण गर्नु हाम्रो प्रमुख दायित्व हो,”– उहाँले भन्नुभयो ।  

दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन र सुरक्षा व्यवस्था मजबुत बनाउन संवेदनशील क्षेत्रहरूमा सीसीटीभी क्यामेरा जडान गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।

महासङ्घका महासचिव डेकनाथ गौतमले तारकेश्वर यातायातले विगत ४६ वर्षदेखि पु¥याउँदै आएको सेवाको प्रशंसा गर्नुभयो । उहाँले ३३ वर्ष पुरानो सवारी ऐनले अहिलेको समस्या समाधान गर्न नसक्ने भन्दै समयअनुकुल यसलाई परिमार्जन गर्नुपर्ने बताउनुभयो । “हामी प्रविधिमैत्री र आधुनिक यातायात सेवातर्फ अघि बढ्नुपर्छ तर विद्यमान कानुनले व्यवसायी र चालकहरूलाई मर्कामा पारेको छ,”– उहाँले भन्नुभयो ।

तारकेश्वर नगरपालिका–२ का वडाअध्यक्ष एवम् प्रवक्ता राधाकृष्ण खड्गी, तारकेश्वर नगरपालिका–३ का वडाअध्यक्ष पशुराम अर्याल, महासङ्घका कोषाध्यक्ष राजेन्द्र आचार्य, बागमती प्रदेशका संयोजक सुवन गिरी, तारकेश्वर यातायात प्रालिका अध्यक्ष श्रीकृष्ण नगरकोटीलगायतले तारकेश्वरको यातायात क्षेत्रको विकासका लागि तीनै तहका सरकार र व्यवसायीहरु एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

विस २०३७ सालमा ३७ सार्वजनिक सवारीबाट सुरु भएको बालाजु यातायात रुपान्तरण गरी हाल तारकेश्वर यातायात प्रालिको रुपमा सञ्चालन हुँदै आएको छ । हाल उक्त प्रालिले १७४ सार्वजनिक यातायातमार्फत आम यात्रुलाई सेवा प्रदान गर्दै आइरहेका छन् । 

ताजा अपडेट

चर्चित

सम्बन्धित समाचार