२०८३, श्रावण २८ गते

बिहिवार, श्रावण २८ गते २०८३

पर्वतारोही पुरबहादुर गुरुङको पार्थिव शरीर नेपाल ल्याइयो, शुक्रबार अन्त्येष्टि गरिने

बिहिवार , श्रावण २१, २०८३

काठमाडौँ, २१ साउन । पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परेर ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङ (युक्ता) को शव नेपाल ल्याइएको छ।

साउन १४ मा हिमपहिरोमा परेर निधन भएका उनको शव बिहीबार साँझ कतार एअरवेजको विमानमार्फत नेपाल ल्याइएको हो।

घटनापछि उद्धार तथा समन्वयका लागि कीर्तिमानी आरोही निर्मल पुर्जाका व्यावसायिक साझेदार एवं प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पा पाकिस्तान गएका थिए। उनी युक्ताको शव लिएर नेपाल फर्किएका हुन्।

युक्ताको शव अन्तिम श्रद्धाञ्जलीका लागि आज नक्सालस्थित नेपाल पर्वतारोहण संघको सचिवालयमा राखिनेछ। त्यसपछि शुक्रबार बिहान ९ बजे स्वयम्भूमा अन्त्येष्टि गर्ने तयारी छ।

गोरखाको लाप्राक घर भएका गुरुङ नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेश कमिटीका उपाध्यक्ष एवं मनाङ माउन्टेनियरिङ स्कुल कमिटीका सदस्य थिए।

आरोहणका क्रममा कीर्तिमानी आरोही निर्मल पुर्जा, पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा गरी ६ नेपालीसहित १० जनाको निधन भएको थियो।

पुर्जाको परिवार बेलायतमा रहेकाले उनको उतै अन्त्येष्टि गर्ने तयारी छ। दुर्घटनामा परेर ज्यान गुमाएका अन्य नेपाली पर्वतारोहीहरूको शव भने पाकिस्तानमा कानूनी प्रक्रिया पुर्‍याएपछि नेपाल ल्याइनेछ।

ताजा अपडेट

चर्चित

सम्बन्धित समाचार