काठमाडौँ, २४ जेठ । विश्व वातावरण दिवसको अवसरमा काठमाडौँ जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ ।
ज्ञानशाला अनुसन्धान केन्द्रको आयोजनामा काठमाडौँ जिल्ला स्तरीय माध्यमिक विद्यालय स्तरीय (कक्षा ९–१०) निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको हो ।
काठमाडौँको नयाँबजारस्थित सी.ई.ए. हाईस्कुलमा आयोजित उक्त कार्यक्रममा काठमाडौँका १९ वटा माध्यमिक विद्यालयका २९ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय प्रथम, अमृत सेकेन्डरी स्कुल द्वितीय र हिमरश्मी विद्यालय तृतीय भएका छन् । त्यसैगरी, ग्रीन फिल्ड विद्यालय र रिड मोडल विद्यालयले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । पुरस्कार स्वरूप प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्नेलाई क्रमशः ६,०००, ४,०००, ३,००० र १,५०० रुपैयाँ नगद प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै ज्ञानशाला अनुसन्धान केन्द्रका अध्यक्ष भोला ढकालले यस्ता कार्यक्रमले बालबालिकाको सिर्जनात्मक क्षमताको विकास गर्ने र उनीहरूमा लुकेको अन्तरनिहित प्रतिभालाई उजागर गर्ने बताउनुभयो ।
उक्त कार्यक्रम सम्पन्न गर्नका लागि नेपाल रुलर एण्ड एडभान्समेन्ट कमिटी (एनआरएसी) का प्रबन्ध निर्देशक प्रकाश घिमिरेले आर्थिक सहयोग गर्नुभएको थियो । एनआरएसीले लामो समयदेखि वातावरणीय अध्ययनका क्षेत्रमा काम गरिरहेको छ ।
कार्यक्रममा सी.ई.ए. हाईस्कुलका अध्यक्ष विश्वनाथ अधिकारीले आफ्नो विद्यालयमा यस्तो कार्यक्रम आयोजना हुन पाएकोमा खुसी व्यक्त गर्नुभयो । कार्यक्रमको सुरुवातमा समिर सिंहले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन विष्णुहरि देवकोटाले गर्नुभएको थियो । निबन्धको मूल्याङ्कन शेरबहादुर अर्याल र सिताराम ढकालले गर्नुभएको थियो ।























