काठमाडौँ, २३ जेठ । राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेशका प्रमुख बासुदेव पौडेललाई ‘मिलेनियम ट्रेक प्रवद्र्धन’ पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
मिलेनियम ट्रेक व्यवस्थापन समितिले समाचार सम्प्रेषणका माध्यमबाट नेपालको पहिलो मध्यपहाडी पदमार्ग मिलेनियम ट्रेकको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै आज काठमाडौँमा आयोजित कार्यक्रममा रु १५ हजार ५५५ नगदसहित दोसल्ला र सम्मानपत्रद्धारा सम्मान गरेको हो ।
उहाँलाई तनहुँका प्रतिनिधीसभा सदस्य इन्जिनीयर श्रीराम न्यौपाने, समितिका कार्यवाहक अध्यक्ष नेत्रप्रसाद गुरुङ, नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले संयुक्त रुपमा सम्मान गर्नुभएको हो ।
विस २०६३ सालदेखि राससमा आवद्ध पौडेल एक दशकदेखि पोखरामा बसेर पत्रकारितामार्फत नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आउनुभएको छ ।
कार्यक्रममा बोल्दै प्रतिनिधीसभा सदस्य न्यौपानेले मिलेनियम ट्रेकलाई नेपालको मात्र नभई विश्वकै आकर्षणको केन्द्र बनाउन सकिने बताउनुभयो ।
उहाँले तनहुँको छाब्दीदेखि बन्दीपुर हुँदै देवघाटसम्मको पदमार्गलाई आगामी आवको वजेटले साइकलिङ ट्रयाकका रूपमा विकास गर्न खोजेको भन्दै मिलेनियम ट्रेकलाई समेत यसमा जोड्न सकिने उल्लेख गर्नुभयो । प्रतिनिधीसभा सदस्य न्यौपानेले तनहुँ हाइड्रोपावरले सिर्जना गर्ने २१ किलोमिटर लामो ताल र यस आसपासका डाँडाकाँडालाई पर्यटकीय आकर्षणको रूपमा जोड्न सकिने सम्भावना रहेको उल्लेख गर्नुभयो ।
उहाँले विदेशी तथा आन्तरिक पर्यटकलाई आकर्षित गर्न भरपर्दो बिजुली, उच्च गतिको इन्टरनेट र डिजिटल साक्षरता आवश्यक रहेको बताउनुभयो । उहाँले आगामी बजेटमा मिलेनियम पदमार्ग र यससँग जोडिएका पूर्वाधारका लागि आवश्यक बजेट विनियोजन गराउन संसद्मा आवाज उठाउने उल्लेख गर्नुभयो ।
नेपाल पर्यटन वोर्ड पोखराका प्रमुख मणिराज लामिछानेले गण्डकी प्रदेशका ११ जिल्लाको पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्यटन वोर्ड गण्डकी प्रदश लागेको बताउनुभयो । मिलेनियम ट्रेकको उचाई ४०० मीटरदेखि एक हजार ८०० मीटरसम्म भएकाले जोकोहीका लागि उत्कृष्ट पदमार्ग भएको उहाँको भनाई थियो ।
उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याउन सकिए यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेले पूर्वाधारको विकास, डिजिटल प्रचारप्रसार र आन्तरिक पर्यटनको विकास गर्न सकिए उक्त ट्रेकको ठूलो भविश्य रहेको बताउनुभयो । बास बस्ने ठाउँमा यथेष्ट घर नहुँदा टेन्ट राखेर समेत पर्यटकलाई सेवा दिन सकिने उहाँको भनाई छ ।
पर्यटन व्यवसायी चन्द्र घर्ती, चरा विज्ञ हेमन्त ढकालले चरा र प्राकृतिक तथा सांस्कृतिक सम्पदामार्फत यस ट्रेकको पर्यटन प्रवद्र्धन गर्न सकिने बताउनुभयो ।
उक्त ट्रेकबारे कार्यपत्र प्रस्तुत गर्दै निती तथा योजना आयोग गण्डकी प्रदेशका प्रमुख डा श्रीकान्त खतिवडाले प्राकृतिक, सांस्कृतिक र पर्यटकीय हिसाबले गण्डकी प्रदेश धनी प्रदेश भएकाले यसको विकसका लागि केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार र स्थानीय समुदाय हातेमालो गर्नुपर्ने बताउनुभयो ।
तनहुँको दुलेगौडाबाट स्याङ्जाको रामबाछा जोडिने मिलेनियम ट्रेक सन् २००० देखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । हिमाली एवम् पहाडी भूदृश्यहरू अवलोकन गर्दै बालकदेखि बृद्धसम्म सबै उमेर समूहका व्यक्तिले पदयात्रा गर्न सक्ने यस पदमार्गमा विभिन्न ऐतिहासिक कोट, दरबार, गुफा आदिको अवलोकन गर्न सकिने समितिका महासचिव हर्क गुरुङले जानकारी दिनुभयो ।
छ रात सात दिनको समयावधिमा पदयात्रा गर्न सकिने यो पदमार्ग चरा पर्यटनका लागि पनि आकर्षक गन्तव्य हो । तीन सय प्रजातिका चरा पाइने यस पदमार्गका ठाउँ ठाउँमा नेपालमा मात्रै पाइने चरा काँडे भ्याकुर प्रशस्त मात्रामा देख्न सकिने बताइएको छ ।





















