हर्षोल्लासका साथ मनाइयो तीज

0
14

भाद्र २२, २०८१ पोखरा ।यसपालिको हरितालिका तीज हर्षोल्लासका साथ मनाइएको छ । देशभरका शिव मन्दिरमा व्रतालु महिलाको ठूलो भीड लागेको थियो । जसमा केही व्रतालु पुरुषहरु पनि सहभागी थिए ।

रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिला दिदीबहिनीहरु विभिन्न ठाउँमा तीजेभाखामा नाचगान गरी रमाए । त्यसो त एकदुई महिनादेखि नै तीजका तीज युट्युबमा छाइरहँदा तीजको छुट्टै रौनक थियो । त्यसैले यसपालि तीज झन् रंगीन बनेको सर्वसाधारणले जनाएका छन् ।

प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्व अवसरमा काठमाडौं पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको हो ।

पोखराको फेवाताल किनारको केदारेश्वर महादेवमणि मन्दिर, विन्ध्यवासिनी मन्दिरलगायतमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको थियो ।

तीज अवसरमा पोखराका विभिन्न ठाउँमा तीज मेला तथा महोत्सव पनि आयोजना गरिएको थियो । महिला पर्यटन व्यवसायी मञ्च (टेवान) आयोजनामा वाराहीघाटस्थित नेपाल ट्रस्टको चौरमा शुक्रबारदेखि ‘तीज सांस्कृतिक महोत्सव–२०८१’ सुरु गरेको छ । ‘दिगो पर्यटनका लागि समान सहभागिता’ मूल नारासहित महिलाहरुको महान् पर्व हरितालिका तीज अवसरमा टेवानले दोस्रो संस्करणको रुपमा उक्त महोत्सव आयोजना गरिएको टेवान अध्यक्ष कमला गिरीले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here