काठमाडौँ, ९ जेठ । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराज भक्त श्रेष्ठले स्यूचाटारस्थित नेपाल विद्युत प्राधिकरणको विद्युत प्रणाली तथा सञ्चालन विभाग (भार प्रेषण केन्द्र) को निरीक्षण गर्नुभएको छ ।
मन्त्री श्रेष्ठले आज साँझ स्यूचाटारस्थित नेपाल विद्युत प्राधिकरणको विद्युत प्रणाली तथा सञ्चालन विभाग (भार प्रेषण केन्द्र) को निरीक्षण गर्नुभएको हो ।
निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले मुलुकको समग्र विद्युत प्रणालीको सञ्चालन, ग्रिडको विद्युत आपूर्ति व्यवस्थापन र छिमेकी मुलुकसँग भइरहेको अन्तरदेशीय विद्युत खरिद बिक्रीको वर्तमान अवस्थाबारे जानकारी लिनुभएको थियो ।
निरीक्षणका क्रममा भार प्रेसण केन्द्रका प्रमुख चन्दन घोषले नेपालको विद्युत माग र आपूर्तिको सन्तुलन, प्रणालीमा आउने प्राविधिक चुनौती र भारतसँग भइरहेको विद्युत आयात निर्यातको प्राविधिक पक्षबारे मन्त्री श्रेष्ठलाई अवगत गराउनुभएको थियो ।
निरीक्षणपछि मन्त्री श्रेष्ठले देशको उर्जा सुरक्षा र भरपर्दो विद्युत आपूर्तीका लागि प्रणालीको सुदृढीकरण अनिवार्य रहेको बताउनुभयो । उहाँले आन्तरिक खपत बढाउँदै बढी भएको विद्युत निर्यात गरी आर्थिक लाभ लिन र हिउँदको समयमा हुने विद्युत मागलाई कुशलतापूर्वक व्यवस्थापन गर्न निर्देशन दिनुभयो ।
विद्युत प्रणालीलाई थप आधुनिक र प्रविधिमैत्री बनाउँदै सम्भावित प्राविधिक जोखिम न्यूनीकरण गर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने मन्त्री श्रेष्ठले बताउनुभयो । उक्त निरीक्षणमा मन्त्री श्रेष्ठसँगै नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दिर्घायुकुमार श्रेष्ठको सहभागीता रहेको थियो ।
























