Home पर्यटन रसुवामा ‘लाङटाङ ट्रेल रन’ प्रतियोगिता

रसुवामा ‘लाङटाङ ट्रेल रन’ प्रतियोगिता

0
41

रसुवा, २३ जेठ । हिमाली क्षेत्रको पर्यटन प्रवर्द्धन तथा लाङटाङ क्षेत्रको अन्तरराष्ट्रिय पहिचान विस्तार गर्ने उद्देश्यले रसुवामा ‘लाङटाङ ट्रेल रन’ प्रतियोगिता सुरु गरिएको छ ।

रसुवा–नुवाकोट पर्यटन समाजको आयोजनामा भएको प्रतियोगिताको आज लाङटाङको क्याङ्जेनमा उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लाङ्टाङ क्षेत्रको पर्यटन विकासका लागि पदमार्ग तथा पूर्वाधार सुधार आवश्यक रहेको बताउनुभयो । उहाँले हिमाल र हिमाली वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौतीबीच हिउँ र हिमाली सम्पदाको संरक्षणमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो ।

मुख्यमन्त्री बानियाँले स्थानीय हावापानी अनुकूल कृषि उत्पादन वृद्धि गरी पर्यटकलाई स्वस्थ तथा सन्तुलित भोजन उपलब्ध गराउन सके पर्यटन क्षेत्र थप आकर्षक बन्ने बताउनुभयो ।

समुद्र सतहबाट करिब तीन हजार ८७० मिटर उचाइमा रहेको क्याङ्जेनमा आयोजित प्रतियोगितामा सहभागी खेलाडीले क्याङ्जेनदेखि स्याफ्रुबेँसीसम्मको ३२ किलोमिटर दूरी पार गर्नुपर्नेछ । प्रतियोगितामा दुई विदेशी महिलासहित एक सय तीन खेलाडी सहभागी भएको आयोजकले जनाएको छ ।

बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङ तथा पर्यटन सचिव दीपेन्द्र सुवेदीलगायतको सहभागिता रहेको थियो ।

पर्यटनमन्त्री श्रेष्ठले लाङटाङ क्षेत्रको प्राकृतिक सौन्दर्य, हिमाली संस्कृति र जैविक विविधतालाई विश्वसामु चिनाउन सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले लाङटाङ पदमार्गलाई नेपालको प्रमुख पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित वातावरण संरक्षण, सरसफाइ र गुणस्तरीय सेवा प्रवाहमा जोड दिनुभयो ।

आर्थिक मामिलामन्त्री तामाङले स्थानीय समुदाय, पर्यटन व्यवसायी र सरोकार भएका निकायबीच सद्भाव र सहकार्यले मात्र हिमाली पर्यटनको दिगो विकास सम्भव हुने बताउनुभयो । उहाँले लाङ्टाङ भ्रमणमा आउने पर्यटकलाई आत्मीयतापूर्वक सेवा प्रदान गरी नेपालको सकारात्मक छवि निर्माण गर्न आग्रह गर्नुभयो ।

खेल, पर्यटन र वातावरण संरक्षणलाई एकै सूत्रमा जोड्ने उद्देश्यले आयोजना गरिएको ट्रेल रनले हिमाली क्षेत्रको प्रचारप्रसारमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको ट्रेकिङ एसोसियसन अफ नेपाल ९टान० का पूर्वअध्यक्ष दीपक महतले बताउनुभयो ।

रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेका अनुसार यस्ता कार्यक्रमले लाङटाङ क्षेत्रलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय पर्यटन बजारमा स्थापित गर्न थप मद्दत पुग्नेछ । यहाँ आयोजित साहसिक दौड प्रतियोगिता केवल खेलकुद गतिविधि मात्र नभई लाङटाङको प्राकृतिक सौन्दर्य, संस्कृति र पर्यटन सम्भावनालाई विश्वसामु चिनाउने प्रभावकारी माध्यमका रूपमा हेरिएको गोसाइँकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष ढिण्डुप तामाङको भनाइ छ ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here