गोरखा, १० जेठ । गोरखाको भीमसेनथापा गाउँपालिकामा आज आयोजित एकदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट ४७ जना लाभान्वित भएका छन् ।
प्रदेश अस्पताल गोरखाको आयोजना र भीमसेन थापा गाउँपालिकाको समन्वयमा पालिकास्थित सहिद आधारभूत अस्पतालमा आयोजित शिविरमा ४७ जना हाडजोर्नी तथा नशारोगका बिरामीहरूले उपचार सेवा लिएका प्रदेश अस्पताल गोरखाका निमित्त मेडिकल डा शम्भु अधिकारीले जानकारी दिनुभयो ।
उपचार सेवा लिएकामध्ये २१ जना बिरामीलाई फिजियोथेरापी सेवा प्रदान गरिएको उहाँले बताउनुभयो । प्रदेश अस्पतालले ‘स्थानीय तहमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार’ कार्यक्रमअन्तर्गत शिविर सञ्चालन गरेको हो । सो निःशुल्क स्वास्थ शिविरबाट ग्रामीण क्षेत्रका सर्वसाधारण प्रत्यक्ष रूपमा लाभान्वित भएको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिनुभयो ।
शिविरमा हाडजोर्नी, नशारोग र फिजियोथेरापीसम्बन्धी उपचार सेवा प्रदान गरिएको हो । अस्पताल गोरखाका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा शम्भु अधिकारीको नेतृत्वमा हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा शङ्कर सिग्देल र फिजियोथेरापिष्ट चन्द्रबहादुर खत्रीसहितको विशेषज्ञ टोलीले उपचार सेवा प्रदान गरेका थिए ।
























