Home पर्यटन ठमेल पर्यटन विकास परिषद्को महासचिवमा पशुपति कंडेलको उम्मेदवारी

ठमेल पर्यटन विकास परिषद्को महासचिवमा पशुपति कंडेलको उम्मेदवारी

0
3

काठमाडौं, २१ असार । ठमेल पर्यटन विकास परिषद्को आगामी निर्वाचनका लागि महासचिव पदमा युवा पर्यटन व्यवसायी तथा समाजसेवी पशुपति कंडेलले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।

“संघर्षबाट सिकेको अनुभव, सेवाबाट कमाएको विश्वास र परिणाममुखी नेतृत्व” भन्ने मूल नाराका साथ कंडेल चुनावी मैदानमा उत्रिनुभएको हो । धादिङको ज्वालामुखी गाउँपालिकामा जन्मिएर काठमाडौंलाई आफ्नो कर्मथलो बनाउनुभएका कंडेल विगत लामो समयदेखि पर्यटन क्षेत्र र सामाजिक सेवामा सक्रिय हुनुहुन्छ ।

व्यवस्थापन संकायमा स्नातकोत्तर गर्नुभएका उहाँ ठमेलस्थित ‘आगन्तुक होटल’ तथा ‘अतिथि होटल एन्ड अपार्टमेन्ट’का सञ्चालक हुनुहुन्छ ।

अनुभव र व्यक्तित्व

विभिन्न सामाजिक संस्था, लायन्स क्लब र पर्यटन क्षेत्रका विभिन्न निकायमा नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नुभएका कंडेललाई एक ‘एक्सन ओरिएन्टेड’ (परिणाममुखी) व्यक्तित्वका रूपमा चिनिन्छ । व्यवसायका साथै उहाँ रक्तदान अभियान र सामाजिक कार्यहरूमा पनि अग्रणी भूमिकामा रहँदै आउनुभएको छ ।

महासचिवका उम्मेदवार कंडेलले ठमेलको समग्र विकास र सुधारका लागि १० बुँदे स्पष्ट कार्ययोजना सार्वजनिक गर्नुभएको छ ।

उहाँका मुख्य प्रतिबद्धताहरू यस प्रकार छन्:

१. पहिचान र गौरवको संरक्षण: ठमेललाई नेपालको प्रमुख पर्यटकीय केन्द्रका रूपमा यसको गरिमा र आकर्षणलाई थप सुदृढ बनाउने ।

२. कला र संस्कृतिको जगेर्ना: ठमेलको मौलिक कला, संस्कृति र परम्परालाई संरक्षण गरी भावी पुस्तामा हस्तान्तरण गर्ने ।

३. व्यवस्थित ठमेल: ठमेललाई विश्वस्तरीय पर्यटकीय गन्तव्य बनाउन दिगो र बहुआयामिक विकासको मोडेल लागू गर्ने ।

४. सम्पदा पर्यटन: ऐतिहासिक मन्दिर, बहाल, विहार र चोकहरूको संरक्षण गर्दै ‘सम्पदा भ्रमण’को अवधारणा विकास गर्ने ।

५. सहकार्यको वातावरण: ठमेलका घरधनी र व्यवसायीबीच आपसी विश्वास र सद्भाव कायम गरी सहकार्यको वातावरण सृजना गर्ने ।

६. सुरक्षित र सफा ठमेल: प्रभावकारी शान्ति–सुरक्षा, सडक बत्ती, सीसी क्यामेरा जडान, ढल व्यवस्थापन र सडक बालबालिकाको उचित व्यवस्थापन गर्ने ।

७. पूर्णकालीन व्यवसाय: गृह मन्त्रालयबाट स्वीकृत ‘पूर्ण समय व्यवसाय सञ्चालन’ सम्बन्धी मापदण्डलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने ।

८. ठमेल गुरुयोजनाको कार्यान्वयन: रोकिएका ठमेलका गुरुयोजनाहरूलाई सरोकारवालाको समन्वयमा पुनः अगाडि बढाउने ।

९. स्ट्रीट नम्बरिङ: ठमेलका सडकहरूको नम्बरिङ कार्यलाई पूर्णता दिने ।

१०. डिजिटल र आधुनिक ठमेल: ‘डिजिटल ठमेल’, निःशुल्क वाइफाइ, वाकिङ–फ्रेन्ड्ली सडक र पर्यटकमैत्री आधुनिक सूचना केन्द्रको स्थापना गर्ने ।

उम्मेदवारी घोषणा गर्दै कंडेलले भन्नुभयो, “ठमेल केवल व्यापारिक केन्द्र मात्र होइन, यो हाम्रो पहिचान हो । यसलाई सफा, सुरक्षित, सभ्य र प्रविधिमैत्री बनाउन मेरो उम्मेदवारी हो । म कुराभन्दा काममा विश्वास गर्छु र ठमेलका हरेक व्यवसायी तथा घरधनीको सुख–दुःखमा साथ दिन सधैं प्रतिबद्ध छु ।”

ठमेलका व्यवसायीहरूबीच लोकप्रिय र मृदुभाषी कंडेलको उम्मेदवारीलाई ठमेल क्षेत्रको सुधारका लागि एउटा बलियो कदमका रूपमा हेरिएको छ ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here