पोखरा, २९ बैशाख । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको उपाध्यक्षमा यादवलाल श्रेष्ठले उम्मेदवारी दिनुभएको छ ।
पर्यटकीय नगरी पोखरामा आइतबारदेखि सुरु भएको महासंघको सातौँ महाधिवेशनमा पुराना व्यवसायी श्रेष्ठले उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो ।
यातायात क्षेत्रका अनुभव तथा इमानदारी नेतृत्वको रुपमा परिचित श्रेष्ठ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घमा यस अघि उपाध्यक्ष हुनुहुन्थ्यो । नेपालको यातायात क्षेत्र अनेकौँ चुनौती, असहज नीति, व्यवसायिक असुरक्षा र बदलिँदो परिस्थितिबीच संघर्षरत रहेको बेला आफूले योगदान गर्न सो पदको लागि उम्मेदवारी दिएको श्रेष्ठले बताउनुभयो । “यस्तो परिस्थितिमा मेरो अनुभव विगतमा यसै क्षेत्रमा गरेको संघर्ष र व्यवहारिक ज्ञानको सदुपयोग गर्न खोजेको हुँ” श्रेष्ठले भन्नुभयो ।
व्यवसायीको हक, सम्मान र सुरक्षित भविष्य नै आफ्नो अठोट भएको श्रेष्ठले बताउनुभयो । आफू उपाध्यक्ष पदमा विजयी भएमा हाल विभाजित महासंघलाई एकताको सूत्रमा बाँध्ने उहाँले बताउनुभयो ।
“विभिन्न धार र संरचनामा रहेका यातायातसम्बन्धी महासंघ तथा संगठनहरूलाई एउटै साझा छातामुनि ल्याई बलियो, एकीकृत र प्रभावकारी संगठन निर्माण गर्न निरन्तर पहल गर्नेछु”–श्रेष्ठले भन्नुभयो । एकताबद्ध महासंघ नै व्यवसायीको अधिकार सुनिश्चित गर्ने बलियो आधार हो भन्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।
यसैगरी, महासंघको आफ्नै आधुनिक भवन निर्माण, राज्यसँग प्रभावकारी नीतिगत पैरवीमा आफ्नो पहल हुने उहाँले आफ्नो प्रतिवद्धतामार्फत सार्वजनिक गर्नुभएको छ ।
यातायात व्यवसायीहरूको पक्षमा राज्यसँग प्रभावकारी संवाद, सहकार्य र दबाबमार्फत व्यवसायीमैत्री नीति निर्माण गराउन सशक्त भूमिका खेल्ने, कर, बीमा, जरिवाना, नवीकरण, बैंक ब्याजलगायत व्यवसायीका जटिल समस्याको समाधानमा निरन्तर खटिने उहाँले बताउनुभयो ।
यसैगरी, सबैखाले सवारीधनीहरूको साझा प्रतिनिधित्व गर्दै मालवाहक, यात्रुवाहक, इन्धन ढुवानी, साना तथा मझौला सवारीसाधन धनीहरू—सबै व्यवसायीहरूको साझा आवाजका रूपमा अहोरात्र खटेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । महासंघ कुनै सीमित वर्गको नभई सम्पूर्ण यातायात व्यवसायीहरूको साझा घर बन्नुपर्ने र यसको लागि आफ्नो भूमिका रहने उहाँले बताउनुभयो । श्रेष्ठले भारतीय नम्बर प्लेटका मालवाहक सवारीसाधन रोक्नसमेत पहल गर्ने उल्लेख गर्नुभयो ।
श्रेष्ठले दुर्घटना पीडित व्यवसायीका लागि राहत प्रणाली सुदृढीकरण गर्ने योजना अघि सार्नुभएको छ । यातायात क्षेत्रमा हुने कहालीलाग्दा दुर्घटनाबाट पीडित व्यवसायीहरूलाई राहत प्रदान गर्न छुट्टै कोष स्थापना गरी हित सञ्चालनमा अग्रणी भूमिका निर्वाह गरेको अनुभवलाई थप सुदृढ बनाउँदै भविष्यमा अझ प्रभावकारी राहत प्रणाली निर्माणमा पहल गर्नेछु उहाँको प्रतिवद्धतामा भनिएको छ ।
को हुन् यादवलाल श्रेष्ठ ?
विगत तीन दशदेखि मालवाहक क्षेत्रमा आवद्ध श्रेष्ठ नेपाल ट्रिपर तथा ट्रक व्यवस्थापन समितिको संस्थापक अध्यक्ष समेत हुनुहुन्छ । श्रेष्ठले महासंघमा मालवाहक सवारी साधनको मुद्दा सशक्त रुपमा उठाउँदै आउनुभएको छ ।
यसैगरी, दुर्घटनाबाट प्रभावित यातायात व्यवसायीहरूको राहत र संरक्षणका लागि हित कोष सञ्चालनमा अग्रणी भूमिका निर्वाह गर्ने श्रेष्ठ यातायात क्षेत्रमा अनुभवले खारिएको नेतृत्व मानिन्छन् ।





















