Home ब्रेकिङ नेपाली ट्रेड युनियन आन्दोलनप्रति अन्तर्राष्ट्रिय ऐक्यवद्धताः निजामति युनियन खारेजीको विश्वव्यापी विरोध

नेपाली ट्रेड युनियन आन्दोलनप्रति अन्तर्राष्ट्रिय ऐक्यवद्धताः निजामति युनियन खारेजीको विश्वव्यापी विरोध

0
38

काठमाडौँ, २७ जेठ । स्विजरल्याण्डको जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को ११४ औं सम्मेलनका क्रममा नेपाली ट्रेड युनियन आन्दोलन र श्रमिक अधिकारका पक्षमा अन्तर्राष्ट्रिय समुदायले बलियो ऐक्यवद्धता जनाएको छ ।

जुन १ देखि जुन १२ सम्म सञ्चालन भइरहेको यस सम्मेलनमा विश्वका १८७ देशका सरकार, रोजगारदाता र श्रमिक प्रतिनिधि गरी पाँच हजारभन्दा बढीको सहभागिता रहेको छ ।

यस वर्षको सम्मेलनमा मुख्य गरी ‘प्लटफर्म इकोनोमी’ मा कार्यरत श्रमिकको हकहितका लागि कानुन निर्माण गर्ने विषयमा घनिभूत छलफल भइरहेको छ ।

सोही अवसरमा इन्टरनेशनल ट्रेड युनियन कन्फेडेरेसन (आईटियुसी) एसिया प्रशान्त क्षेत्रले नेपाल सरकारले हालै निजामति क्षेत्रका ट्रेड युनियनमाथि गरेको खारेजीको निर्णय र श्रमिक आन्दोलनमाथि गरेको संकुचनका विरुद्ध ऐक्यवद्धता जनाएको छ ।

कार्यक्रममा आईटियुसी (एपी)का महासचिव शोया योशिदाले बैठकको पृष्ठभूमि बारे प्रकाश पार्नुभएको थियो । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसि) का अध्यक्ष विनोद श्रेष्ठले वर्तमान सरकारले निजामति क्षेत्रको ट्रेड युनियन खारेज गरेको, अध्यादेशमार्फत त्रिपक्षीय संरचनाबाट श्रमिक प्रतिनिधिलाई हटाएको र श्रमिक आन्दोलनलाई कमजोर पार्न खोजेको भन्दै अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो ।

उक्त अवधारणा पत्रमाथि छलफल गर्दै इन्डोनेसिया, पाकिस्तान, श्रीलंका, इजरायल, जापान र मलेसिया लगायतका देशका प्रतिनिधिले ट्रेड युनियन अधिकार संकुचित पार्नु न्यायसंगत नभएको बताउनुभयो । उहाँहरूले नेपाली श्रमिकको आन्दोलनमा आफूहरूको पूर्ण समर्थन रहेको प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

जिफण्टका पूर्व अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेपालको वर्तमान राजनीतिक अवस्था र निजामति क्षेत्रका युनियन माथि भइरहेको व्यवहारबारे विस्तृत जानकारी गराउनुभएको थियो ।

त्यस्तै, नेपाल निजामति कर्मचारी युनियनका अध्यक्ष उत्तम कटुवालले आफूहरूले श्रममन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाइसकेको जानकारी दिँदै अन्तर्राष्ट्रिय मञ्चमा प्राप्त ऐक्यवद्धताप्रति आभार प्रकट गर्नुभयो ।

नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव एवं इन्टरनेशनल ट्रान्सपोर्ट वर्कर्स फेडेरेसनका कार्यसमिति सदस्य अजय कुमार राईले आइटिएफका महासचिव स्टिफन कटनको सन्देश सुनाउँदै भन्नुभयो, “नेपाल सरकारले ट्रेड युनियनमाथि गरेको कारबाहीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, हामी लोकतन्त्र र ट्रेड युनियन अधिकारका लागि नेपाली श्रमिकको साथमा छौ ।”

महासचिव राईले नेपालको ट्रेड युनियन अधिकार रक्षाका लागि आईटिएफ अग्रमोर्चामा रहने विश्वास दिलाउनुभयो ।

कार्यक्रममा आइटियुसि ब्रसेल्सका उपमहासचिव ईरिक मान्जीले नेपालका युनियनहरू एक्लो नरहेको बताउनुभयो । “नेपालका युनियनलाई विश्वभरका २० करोड श्रमिकको साथ छ, श्रमिकले आफ्नो हकका लागि लड्दा कहिल्यै हार व्यहोर्नु पर्ने छैन,”– उहाँले भन्नुभयो ।

सम्मेलनको अघिल्लो दिन जेनेभास्थित नेपाली दूतावासको समन्वयमा श्रम मन्त्रीसँग रोजगारदाता र श्रमिक प्रतिनिधिको छलफल समेत भएको थियो ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here