काठमाडौँ, ५ बैशाख । ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशनले नेपालको ट्रेड युनियन आन्दोलनलाई ऐक्यवद्धता जनाएको छ ।
फेडेरेशनको वर्लिनमा बसेको विश्व कार्यसमितिको बिहिबार र शुक्रबार बसेको दुईदिने बैठकमा नेपाल सरकारले शासकीय स्वरुपको १०० बुँदामध्ये १२ नम्बर बुँदामा ट्रेड युनियन खारेज गर्ने उल्लेख गरेको भन्दै ट्रेड युनियन अधिकारका लागि फेडेरेशन सँधै उभिने बताएको हो ।
फेडेरेशनका कार्यसमिति सदस्य एवम् नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय अव्यवहारिक भएको भन्दै ट्रेड युनियन अधिकारका लागि ऐक्यवद्धता जनाउन अनुरोध गर्नुभएको थियो ।
बैठकमा फेडेरेशनका अध्यक्ष पैडडी कु्रमलिनले फेडेरेशन विश्वभरका श्रमिकको पक्षमा सँधै उभिएको बताउनुभयो । फेडेरेशनका महासचिव स्टिफन कटनले नेपालमा युनियन माथि भइ रहेको गतिविधीबारे आफूहरुले विभिन्न सञ्चार माध्याममार्फत थाहा पाउँदै आएको बताउँदै लोकतन्त्र र ट्रेड युनियन अधिकारका लागि फेडेरेशन सँधै उभिने बताउनुभयो ।
फेडेरेशनमा विश्वभरका ७५० भन्दा बढी यातायात क्षेत्रका मजदुर युनियनहरु आबद्ध रहेका छन् । फेडेरेशनको विश्वभर दुई करोड बढी सदस्य रहेका छन् । फेडेरशनमा रेल , सडक , पानिजहाज , हवाई , बन्दरगाह , पर्यटनलगायत आठवटा क्षेत्रका यातायात मजदुर समेटिएका छन् ।
फेडेरेशनको दुईदिने बैठकमा अमेरिका इरान युद्धले श्रमिक क्षेत्रमा परेको प्रभाव र यातायात श्रमिकका विभिन्न मुद्दामा छलफल भइरहेको महासचिव राईले बताउनुभयो ।

























