काठमाडौं, ८ वैशाख ।नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्काले आफूमाथि पछिल्लो समय राज्यका विभिन्न निकायबाट भएको पक्राउ र अनुसन्धानको प्रक्रियालाई राजनीतिक प्रतिशोधको संज्ञा दिएका छन्।
खड्काले सोमबार एक वक्तव्य जारी गर्दै नेता खड्काले आफूलाई नियन्त्रणमा लिने कार्य पूर्वाग्रह र सामाजिक सञ्जालमा देखावटी गतिविधि गर्ने मानसिकताबाट प्रेरित रहेको दाबी गरेका हुन्।
गएको चैत १५ गते बिहान आफ्नो निवासबाटै प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले नियन्त्रणमा लिएको घटनालाई स्मरण गर्दै उनले विना स्पष्ट सूचना र कानुनी प्रक्रिया मिचेर आफूलाई समातिएको उल्लेख गरेका छन्।
पक्राउ गर्ने कुनै ठोस आधार र प्रमाण नहुँदा पनि ‘जरुरी पक्राउ पुर्जी’ थमाएर गैरकानुनी ढंगले नियन्त्रणमा लिइएको भन्दै खड्काले यसले मुलुकमा कानुनी शासन कमजोर हुँदै गएको र ‘गुण्डाराज’ हावी हुन थालेको टिप्पणी गरेका छन्।
उनले आफूमाथि प्रतिशोधपूर्ण ढंगले सम्पत्ति शुद्धीकरण, आन्तरिक राजस्व र राजस्व अनुसन्धान विभागजस्ता निकायहरू परिचालन गरी हिरासतमा लिने र म्याद थप गर्ने काम गरिएको बताएका छन्। तर, यस्ता अन्यायपूर्ण कदमका विरुद्ध अदालतले न्यायिक र यथार्थपरक आदेश दिएका कारण आफूमा न्यायप्रतिको विश्वास अझ दृढ भएको उनले स्पष्ट पारेका छन्।
आफू राष्ट्रिय राजनीतिमा प्रवेश गर्नुअघि नै सफल व्यवसायीका रूपमा स्थापित भइसकेको र राज्यलाई ठूलो कर योगदान गर्दै आएको उल्लेख गर्दै खड्काले राजनीतिलाई आफूले कहिल्यै पेशा नबनाएको दाबी गरेका छन्।
राजनीतिमा लागेपछि आफूले आर्जन गर्नुभन्दा बढी गुमाउनुपरेको भन्दै उनले यसलाई केवल सेवाको माध्यमका रूपमा लिएको बताएका छन्। सार्वजनिक पदमा रहेका व्यक्तिहरू पारदर्शी र जवाफदेही हुनुपर्नेमा जोड दिँदै उनले कुनै पनि निष्पक्ष छानबिनका लागि आफू सधैं तयार रहेको र यस्तो छानबिन आफैंबाट सुरु हुनुपर्ने अडान दोहोर्याएका छन्।
विना पर्याप्त प्रमाण र विधि मिचेर गरिने गैरजिम्मेवार छानबिनले राज्यको विश्वसनीयतामाथि नै प्रश्न उठाएको उनको तर्क छ। आफूविरुद्ध भएका भ्रमपूर्ण प्रचार र पारिवारिक मानसिक दबाब दिने खालका गतिविधिप्रति खेद व्यक्त गर्दै खड्काले एक जिम्मेवार नागरिकका रूपमा कानुनी र राजनीतिक लडाइँ निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
वक्तव्यको अन्त्यमा उनले आफूलाई साथ दिने कानुन व्यवसायी, सञ्चारकर्मी, विभिन्न राजनीतिक दलका नेता र न्यायप्रेमी नागरिकहरू प्रति कृतज्ञता व्यक्त गर्दै असत्य र दमनका विरुद्ध आफ्नो अठोट अटल रहने र अन्ततः सत्यकै विजय हुने विश्वास व्यक्त गरेका छन्।





















