काठमाडौँ, ६ वैशाख । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चौधौँ महाधिवेशनबाट चुनिएका आफू पक्षधर केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् ।
बैठक दिउँसो १२ बजे धुम्बाराहीस्थित स्मार्ट होटलमा बस्दैछ । पार्टीको आधिकारिकताका विषयमा सर्वोच्च अदालतको फैसला आएसँगै १४ औँ महाधिवेशन समूह छलफलमा जुटेको हो । बैठकमा १५औँ महाधिवेशनमा के गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई मान्यता दिएपछि असन्तुष्ट रहेका पूर्वसभापति शेरबहादुर देउवा पक्षको नेतृत्व गरेका नेता खड्काले शनिबार आफ्नै निवासमा आफू निकटका नेताहरु बोलाएर छलफल गरेका थिए ।
खड्काले नेताहरु विमलेन्द्र निधि, डा शशांक कोइराला, कृष्ण सिटौला, प्रकाशमान सिंह, डा प्रकाशशरण महत, एनपी साउद, मीन विश्वकर्मा, रमेश लेखकलगायतका नेताहरुसँग छलफल गरेका थिए । छलफलपछि निकटका केन्द्रीय सदस्यहरुको बैठक आज बोलाइएको हो ।























