काठमाडौँ, ४ साउन । नेपाल पर्यटन वोर्डमा पाँच नवनियुक्त सदस्यको स्वागत गरिएको छ ।
वोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत साउन १ गते नियुक्त गरेका पाँच सदस्यको आज स्वागत गर्नुभयो ।
स्वागत कार्यक्रममा निमित्त कार्यकारी प्रमुख ऐरले बोर्डको स्थापनाको उद्देश्य, विद्यमान नीति तथा कार्यक्रम र हालसम्मका प्रमुख उपलब्धिहरूबारे नवनियुक्त सदस्यलाई विस्तृत जानकारी गराउनुभयो । उहाँले बोर्डको संरचना, अवसर तथा चुनौतीका साथै ’नेपाल आरोग्य वर्ष २०२७’ लाई सफल बनाउन भइरहेका तयारीबारे जानकारी गराउनुभयो ।
कार्यक्रममा नवनियुक्त वोर्ड सदस्य सहदेव धमला (विमल) ले आगामी आर्थिक वर्षको बजेट र कार्यक्रमलाई पर्यटन क्षेत्रको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनमा केन्द्रीत हुुनपर्ने बताउनुभयो ।
अर्को सदस्य सन्तोष पोखरेलले पर्यटन क्षेत्रमा रहेका अवरोधहरू हटाउन नयाँ सोच र कार्यशैलीका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले उपलब्ध स्रोत र साधनको प्रभावकारी परिचालनमा जोड दिँदै निजी क्षेत्र पर्यटनको मुख्य कडी भएको उल्लेख गर्नुभयो ।
अर्को सदस्य सिर्जना केसीले सूचना प्रविधिको अधिकतम प्रयोग गरी नेपाली पर्यटनलाई प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सरकार र निजी क्षेत्रबीचको सेतुका रूपमा काम गर्ने भन्दै तथ्यमा आधारित नीति निर्माणका लागि अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
अर्को सदस्य पेम्बा शेर्पाले बोर्डको कार्यसम्पादनलाई गति दिन प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिको प्रक्रिया तत्काल अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संस्थागत हितका लागि काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
अर्का सदस्य डा सोविता श्रेष्ठ ढकालले दिगो पर्यटन विकासका लागि गुणस्तर, अनुसन्धान र सुशासनलाई केन्द्रमा राख्नुपर्ने बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रतिस्पर्धात्मक क्षमता बढाउन बोर्डले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
स्वागत कार्यक्रममा बोर्डका पदाधिकारी र नवनियुक्त सदस्यहरूबीच निजी क्षेत्रसँगको सहकार्यलाई अझ मजबुत बनाउँदै नेपालको पर्यटन प्रवद्र्धनलाई परिणाममुखी ढङ्गले अघि बढाउने साझा प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।






















