Google search engine
Home शिक्षा/साहित्य कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

0
5

गोरखा, ८ चैत । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका शिक्षक र विद्यार्थी झुसिल्किराका कारण हैरान भएका छन् । कक्षाभरि झुसिल्किरा भइँ दिँदा पठनपाठन प्रभावित भएको छ ।

विद्यालयको वरिपरि उतिसको जङ्गल छ । सुक्खा मौसम लागेपछि बिगत एक महिनायता उतिसमा लागेको झुसिल्किरा कक्षा कोठामा आएर बस्न थालेका छन् । शिक्षिका पवित्रा तामाङ भन्छिन्, “भन्दा सानो कुरा जस्तो लाग्छ, तर वरिपरिको उतिसको जङ्गलबाट आएको झुसिल्किराले कक्षाको भुइँ, डेक्स, बेञ्च, जस्ताको छानो, भित्ता कतै खालि छैन ।”

माघको अन्तिम सातादेखि झुसिल्किरा लागेर शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान भएका छन् । उनीहरुको जीउभरी डाबर उठेको छ । सबैले एलर्जीको औषधी खाँदै आएका छन् । “रातभरि कन्याएर सुत्न सकिँदैन । विद्यार्थीको बिजोग छ”, शिक्षिका तामाङले भनिन् । झुसिल्किराको झुस बिझेर बालबालिकाले जीउभरी तेल घसेर आउने गरेका उनी बताउँछन् ।

कक्षा १ देखि ३ सम्म पढ्ने विद्यार्थीका लागि ओछ्याएको कार्पेट झुसिल्किराले ढाकेपछि कक्षाकोठाबाट हटाइएको शिक्षिका तामाङको भनाइ छ । विद्यार्थीलाई पुस्तकालयमा लगेर राखिएको उनले बताइन् ।

“हावाहुरी चल्न थालेपछि झुस उडेर आँखामा पर्ने डर रहन्छ”, उनले भनिन्, “समस्या समाधान गरिदिन शिक्षा शाखा र गाउँपालिकाका जनप्रतिनिधिलाई गुनासो गरेका थियौँ । विषादी प्रयोग गर्न हुँदैन भन्ने सुझाव पायौँ । अवस्था उस्तै छ ।”

विद्यालयको समस्याबारे गत फागुन २६ गते बसेको कार्यपालिका बैठकमा कुरा राखेको वडाध्यक्ष बलबहादुर गुरुङ बताउँछन् । “हामीले वरिपरिको रुख ढालेर समस्या समाधान हुन्छ कि भन्ने सोचेर तीनवटा रुख ढाल्यौँ तर त्यसो गर्दा जङ्गलको झुसिल्किरा झन विद्यालयमा आउँदो रहेछ”, उनले भने, “समस्या घट्लाभन्दा झन बढ्यो । गाउँपालिकाले विषादी प्रयोग गर्नुहुन्न भनेर प्रयोग गर्न दिएन ।”

समस्या ज्यूँकात्यूँ रहेको वडाध्यक्ष गुरुङले भने । केही दिनयता पानी परेकाले झुस उड्ने समस्या भने केही कम भएको शिक्षिका तामाङको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here