Home समाचार टिकटकर तुलसी अधिकारीमाथि ठगी र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

टिकटकर तुलसी अधिकारीमाथि ठगी र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

0
42

काठमाडौं, १३ फागुन । टिकटकबाट चर्चामा आएकी ‘तुल्सा कलेक्सन’की सञ्चालिका तुल्सी अधिकारीविरुद्ध प्रहरीले ठगी, आपराधिक लाभ र सम्पत्ति शुद्धीकरणको कसुरमा एकसाथ अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार अधिकारीविरुद्ध सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’का सञ्चालक कुमार चिमोरियाले गत साउन २२ गते ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जाहेरी दिएका थिए। उक्त जाहेरीमा अधिकारीमाथि रु ४ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोप लगाइएको छ।

ठगी मुद्दाको अनुसन्धानका क्रममा उनको बैंक खातामा शङ्कास्पद र ठूलो परिमाणको कारोबार देखिएपछि प्रहरीले सम्पत्ति शुद्धीकरणको पाटोबाट पनि अनुसन्धान थालेको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उनीविरुद्ध गत फागुन १९ गते नै उजुरी दर्ता भएको खुलेको छ।

विभागले गत कात्तिक २० गते ललितपुर प्रहरीलाई पत्राचार गर्दै सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३ को उपदफा ९१० बमोजिमका निषेधित क्रियाकलाप भएरनभएको विश्लेषण गरी प्रमाण संकलन गर्न सुझाव दिएको थियो। सोही आधारमा प्रहरीले अहिले सम्पत्ति शुद्धीकरणसहितका तीन वटा कसुरलाई एकीकृत रूपमा अनुसन्धान गरिरहेको छ।

अधिकारीले सामाजिक सञ्जाल टिकटक प्रयोग गरी अनुसन्धान प्रक्रियामाथि प्रश्न उठाउँदै भिडियोहरू सार्वजनिक गरेपछि प्रहरीले भ्रामक सूचना नफैलाउन र अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ ।

प्रहरीले अनुसन्धानको दायरामा रहेका व्यक्तिले सामाजिक सञ्जालमा अनुसन्धानलाई प्रभावित पार्ने गरी भ्रामक फोटो, भिडियो र सूचना सम्प्रेषण गर्ने कार्य आफैँमा पुनः अनुसन्धानको विषय बन्नेतर्फ सजग गराएको छ।

प्रहरीले उनलाई तत्काल नेपाल आएर अनुसन्धान गर्ने निकायमा उपस्थित हुन र आफ्नो भनाइ राख्न समेत निर्देशन दिएको छ। अधिकारी हाल विदेशमा रहेको प्रहरीको आशंका छ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here