काठमाडौँ, २२ बैशाख । देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सातौँ राष्ट्रिय महाधिवेशनका लागि मापदण्ड जारी गरेको छ ।
महासंघले एक सूचना प्रकाशित गरी उम्मेदवार हुन चाहनेका लागि अनिवार्य योग्यता र कागजातको विवरण सार्वजनिक गरेको हो ।
महासंघले उम्मेदवार बन्न चाहने पदाधिकारी वा प्रतिनिधिले ३ महिना अगाडि देखि आफ्नै नाममा रहेको सवारी साधनको बिल बुक वा कम्पनीको नाममा रहेको ब्लु बुक र प्रमाणित सेयर लागतको प्रमाण पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।
यस्तै, उम्मेदवारले आफ्नो मातृ संस्था (समिति, कम्पनी, प्रालि, वा सहकारी) को सञ्चालक समितिको बैठकबाट उम्मेदवारीका लागि गरिएको निर्णयको प्रतिलिपि र आधिकारिक सिफारिस पत्र अनिवार्य रूपमा बुझाउनुपर्ने बताइएको छ ।
उम्मेदवारको मातृ संस्थाले महासंघलाई बुझाउनुपर्ने कुनै पनि व्यक्तिगत वा संस्थागत बक्यौता रकम बाँकी नरहेको प्रमाण पेश गर्नुपर्ने सूचनामा उल्लेख छ । बक्यौता बाँकी रहेका संस्थाका प्रतिनिधिले उम्मेदवारी दिन नपाउने महासंघले जनाएको छ ।
यसैगरी, सल्लाहकारको हकमा महासंघका सल्लाहकार र विज्ञ सल्लाहकार स्वतः प्रतिनिधि हुने भएतापनि उम्मेदवार बन्नका लागि भने उनीहरूले पनि आफ्नो मातृ संस्थाबाट प्रतिनिधि चयन भएको र उम्मेदवारीका लागि सिफारिस भएको निर्णय पेश गर्नुपर्ने प्रावधान राखिएको छ ।
महासंघले महाधिवेशनलाई मर्यादित, व्यवस्थित र कानुनी रूपमा सबल बनाउनका लागि यी प्रावधानहरू कार्यान्वयनमा ल्याएको जनाएको छ । तोकिएका कागजातहरू नपुगेका व्यक्तिहरूले उम्मेदवारी दर्ता गर्न नपाउने निर्वाचन समितिले स्पष्ट पारेको छ ।
महासंघको सातौँ राष्ट्रिय महाधिवेशन आगामी बैशाख २७, २८ र २९ गते पर्यटकीय राजधानी पोखरामा हुँदैछ ।





















