Home पर्यटन हिमालको सुरक्षा गर्नु नेपालको मात्र नभई विश्वकै दायित्व हो : पर्यटनमन्त्री पौडेल

हिमालको सुरक्षा गर्नु नेपालको मात्र नभई विश्वकै दायित्व हो : पर्यटनमन्त्री पौडेल

0
4

काठमाडौँ, १५ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री खडकराज (गनेश) पौडेलले सगरमाथा हिमाल मात्र नभएर हाम्रो पहिचान र गौरवको प्रतिक भएको बताउनुभएको हो ।

पर्यटन विभाग, नेपाल पर्यटन वोर्डको आयोजना तथा पर्वतीय पर्यटनसँग सम्बन्धीत विभिन्न सङ्घ संस्थाको सहकार्यमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सगरमाथा हिमालमात्र नभएर नेपालको पहिचान र गौरव भएको बताउनुभएको हो ।

मन्त्री पौडेलले सगरमाथा आरोहण गर्नु शारीरिक चुनौती मात्र नभएर यो एक ‘आन्तरिक यात्रा’ र साहसको प्रतीक भएको बताउनुभयो । उहाँले संसारका सबै धर्ममा हिमाल र यात्राको ठूलो महत्व रहेको उल्लेख गर्नुभयो । “सगरमाथा र विभिन्न हिमाल चढ्नु भनेको आफ्नै श्वासप्रश्वासलाई गन्नु र ध्यानमग्न हुनु हो,”–उहाँले भन्नुभयो ।

उहाँले जलवायु परिवर्तनका कारण हिमालमा परिरहेको असरप्रति चिन्ता व्यक्त गर्नुभयो । हिउँ पग्लिँदै जानु र हिमताल संकटमा पर्नुले तटीय क्षेत्रका बस्ती र खानेपानीका मुहानमा प्रत्यक्ष असर परिरहेको उहाँको भनाई थियो । हिमालको सुरक्षा गर्नु नेपालको मात्र नभई सम्पूर्ण विश्वकै दायित्व भएको मन्त्री पौडेलले बताउनुभयो ।

मन्त्री पौडेलले कीर्तिमानी आरोही कामी रिता शेर्पा, लाक्पा शेर्पा र मिङ्मा शेर्पालगायतका साहसी आरोहीको उच्च प्रशंसा गर्नुभयो । “कामी रिता शेर्पाले पटकपटक सगरमाथा चढ्नु उहाँको व्यक्तिगत रेकर्ड मात्र नभएर सम्पूर्ण मानवताकै लागि गौरवको विषय हो,”– उहाँले भन्नुभयो ।

नेपालको पर्यटन र समृद्धिको मुख्य आधार हिमाल भएकाले यसको संरक्षण र संवद्र्धन गरेर मात्रै नेपालको राष्ट्रिय स्वाभिमान र आर्थिक विकास सम्भव हुने मन्त्री पौडेलले बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले जलवायु परिवर्तनको असर नेपालको हिमाली क्षेत्रमा पर्दे गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले नेपालको इतिहासमा बहालवाला सांसदद्वारा सगरमाथा आरोहणको नयाँ कीर्तिमान बनाउनु सिंगो मुलुकको लागि खुशीको कुरा भएको बताउनुभयो ।

सचिव निरौलाले पर्यटन ऐनलाई समयानुकूल परिमार्जन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । राष्ट्रिय सभाबाट पारित भइसकेको पर्यटन ऐन अब प्रतिनिधि सभामा छलफलको क्रममा रहेको र यसले पर्वतारोहण क्षेत्रका धेरै समस्याहरू समाधान गर्ने उहाँले बताउनुभयो । हिमालको प्रदूषण कम गर्न र पर्वतीय पर्यटनलाई दिगो बनाउन सार्वजनिक, निजी र नागरिक समाजबीच समन्वय हुनुपर्ने उहाँको भनाई थियो ।

पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले नेपालको हिमालमा अरोहण गर्न विदेशीको मोह क्रमशः बढ्दै गएको बताउनुभयो । विगत केही वर्षदेखि सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी कार्यालय स्थापना गरी समन्वय र सहजीकरण भइरहेको उहाँले बताउनुभयो ।

महानिर्देशक लामिछानेले विशेषगरी आरोहण अनुमति, फोहोरमैला व्यवस्थापन, आरोही र सहयोगीको सुरक्षा, बिमा र सामाजिक सुरक्षाका विषयमा सरकारले गम्भीरतापूर्वक काम गरिरहेको उल्लेख गर्नुभयो । हाल नेपालको पर्वतीय पर्यटन खुम्बु, अन्नपूर्ण र कञ्चनजङ्गा क्षेत्रमा मात्र केन्द्रित रहेपनि आगामी दिनमा कर्णाली र सुदूरपश्चिम क्षेत्रमा समेत विकास गरिने उहाँको भनाई छ ।

यस वर्ष सगरमाथा आरोहणका लागि मात्र ४९६ जनाले अनुमति लिएको र अर्बौँ राजश्व संकलन भएको महानिर्देशक लामिछानेले बताउनुभयो । पर्वतीय पर्यटनले नेपालको अर्थतन्त्र, कूटनीति र सामाजिक विकासमा पु¥याएको योगदान अतुलनीय रहेको उहाँको भनाइ थियो ।

नेपाल पर्वतारोहण सङ्घ (एनएमए)का अध्यक्ष फुर ग्याल्जे शेर्पाले सिंगो नेपाल हिमालको फेदमा रहेकाले यहाँ भएका हिमालको संरक्षण गर्ने दायित्व हामी सबैको भएको बताउनुभयो । उहाँले निजी क्षेत्रलाई साथमा लिएर पर्यटन ऐनलाई अगाडि बढाउन आग्रह गर्नुभयो ।

विभिन्न आरोहीलाई सम्मान
कार्यक्रममा विश्वको सर्वोच्च शिखरसहित विभिन्न हिमालको आरोहण गरेर विश्व किर्तिमान राख्ने विभिन्न आरोहीलाई सम्मान गरिएको छ ।

कार्यक्रममा रु एक लाख राशीको अन्तर्राष्ट्रिय सगरमाथा आरोहण पुरस्कार ३१ पटक सगरमाथाको सफल आरोहण गर्ने आरोही पासाङ दावा शेर्पालाई, रु ५० हजार राशीको तेञ्जीन हिलारी पुरस्कार हेलिकप्टर पाइलट प्रिया अधिकारी, ५० हजार राशीको तेञ्जिङ हिलारी किर्तिमानी आरोही तेञ्जीङ डेभिड शेर्पालाई प्रदान गरिएको छ ।

यस्तै, एकै सिजनमा तीनपटक सगरमाथा आरोहण गरेर किर्तिमान राख्ने आरोही पूर्णीमा श्रेष्ठलाई ५० हजार नगदसहित सम्मान गरिएको छ भने हिमालको अध्ययन र अनुसन्धान गर्ने प्राडा विशाल अधिकारीलाई रु ५० हजार नगदसहित सम्मान गरिएको छ ।

‘सगरमाथाः नेपालको पहिचान र गौरव’ भन्ने नाराका साथ आज मे २९ मा देश तथा विदेशमा ७३ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाईँदैछ । सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको ऐतिहासिक दिनको स्मरणमा यो दिवस मनाइँदै आइएको हो ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here