ठमेल पर्यटन विकास परिषद्को आसन्न निर्वाचनलाई लक्षित गरी उम्मेदवारहरूले सडकभरि प्रचार सामग्री र ब्यानरहरू राख्दा ठमेलको सौन्दर्य बिग्रिएको छ।
यसअघि सार्वजनिक स्थानमा होर्डिङ बोर्ड, भित्ते लेखन र अव्यवस्थित प्रचार सामग्री हटाउन निकै आक्रामक देखिएको काठमाडौं महानगरपालिका, ठमेलमा देखिएको यो भद्रगोलमा भने मौन देखिएको छ।
विशेषगरी प्रसयराज भण्डारी समूहले ठमेलका मुख्य सडकहरूमा व्यापक रूपमा ब्यानर र चुनावी सामग्री राखेर अभद्र प्रचार गरिरहेको छ। तर, महानगरपालिकाले यसलाई रोक्न वा हटाउन कुनै चासो नदेखाएको भन्दै स्थानीय व्यवसायी तथा घरधनीले असन्तुष्टि व्यक्त गरेका छन्।
पर्यटनको मुख्य हब मानिने ठमेलका सडक र गल्लीहरूमा जथाभावी टाँगिएका ब्यानरले पैदलयात्री र सवारीसाधन र पर्यटकहरूलाई समेत बाधा पुर्याएको छ। ूमहानगरले साना व्यवसायीका बोर्डहरू हटाउन जुन सक्रियता देखाउँछ, अहिले चुनावी प्रचारका नाममा भएको यो अराजकतामा किन चुप लागेको हो, एक स्थानीय व्यवसायीले प्रश्न गरे।
व्यवसायीहरूका अनुसार निर्वाचनको नाममा सार्वजनिक सम्पत्तिको कुरुप प्रयोग हुनु र पर्यटकीय क्षेत्रको स्वच्छतामा आँच पुग्नु दुःखद पक्ष हो।
उनीहरूले महानगरपालिकाले सबैका लागि समान नियम लागू गर्नुपर्ने र ठमेलको सौन्दर्य कायम राख्न तत्काल कदम चाल्नुपर्ने माग गरेका छन्।
स्थानीयहरूको गुनासो छ कि, नियम सबैका लागि बराबर हुनुपर्छ। निर्वाचनको बाहानामा कसैलाई पनि सार्वजनिक स्थलमा फोहोर गर्ने वा अव्यवस्थित प्रचार गर्ने छुट हुनुहुँदैन।
काठमाडौं महानगरपालिकाले सहरलाई क्लिन सिटी बनाउने अभियान चलाइरहेका बेला, ठमेलमा देखिएको यो दृष्यले महानगरको दोहोरो मापदण्डलाई उजागर गरेको स्थानीयहरूको आरोप छ।
निर्वाचन प्रचारप्रसारलाई व्यवस्थित बनाउन र सार्वजनिक स्थलको मर्यादा राख्न सम्बन्धित सबै पक्षलाई सरोकारवालाहरूले ध्यानाकर्षण गराएका छन्।





















