काठमाडौँ, ९ असोज । यातायात व्यवसायी चेतप्रसाद (अर्जुन) गौतमले कांग्रेसको महाधिवेशन प्रतिनिधीमा उम्मेदवारी दिने भएका छन् ।
यातायात व्यवसायसँगै लामो समयदेखि कांग्रेसमा सक्रिय रहेका गौतमले कांग्रेसको १५ औँ महाधिवेशनमा मकवानपुर क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिन लागेका हुन् ।
गौतम विस २०४७ सालमा १७ वर्षको उमेरदेखि नै नेपाली कांग्रेसमा आबद्ध हुँदै आएका छन् । विस २०४८ सालदेखि भएका विभिन्न निर्वाचनमा जिल्ला तहदेखि हेटौँडा उपमहानगरपालिका–७ सम्म पार्टीका उम्मेदवारलाई निर्वाचित गराउन प्रत्यक्ष रूपमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए ।
पेशागत श्रमिकका रूपमा समेत लामो समयदेखि सक्रिय गौतमले विस २०५५ सालमा मजदुरहरूको पेशागत हकहित र एकताका लागि नेपाल ट्याक्सी चालक संघको संस्थापकका रूपमा काम गरेका थिए ।
त्यसपछि नेपाल यातायात मजदुर संघ हुँदै ट्रेड युनियन कांग्रेसको श्रमिक अधिकारसम्बन्धी आन्दोलनमा समेत सहभागी हुँदै आएका थिए । यातायात क्षेत्रका पेशागत व्यक्तिहरूलाई नेपाली कांग्रेसको संगठनमा जोड्ने उद्देश्यसहित गौतमको पहलमा विस २०७२ सालमा नेपाली कांग्रेसको शुभेच्छुक संस्थाका रूपमा नेपाल प्रजातान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघ स्थापना भएको थियो ।
हाल उक्त संस्थाको ५८ जिल्लासहित सातै प्रदेशमा कार्यसमिति गठन भइसकेको र पार्टीमा आस्था राख्ने यातायात क्षेत्रका पेशागत व्यक्तिहरूलाई संगठित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको गौतमको भनाई छ ।
पार्टी संगठन निर्माणमा निरन्तर सक्रिय रहँदै आएका गौतम १४ औँ महाधिवेशनमा बागमती प्रदेश महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बनेका थिए । उक्त निर्वाचनमा पराजित गौतमलाई १४ औँ महाधिवेशनपछि अग्रज नेताबाट विभिन्न जिम्मेवारी तथा पदमा मनोनयन गर्ने प्रस्ताव आएपनि आफूले व्यक्तिगत लाभभन्दा पार्टी संगठन निर्माणलाई प्राथमिकता दिएको गौतमको भनाई छ । सोही समयमा गौतमले आफूलाई १५औँ महाधिवेशनमा उचित स्थान दिन आग्रह गरेको बताएका छन् ।
सामान्य स्वरोजगार मजदुरका रूपमा आफ्नो राजनीतिक तथा सामाजिक यात्रा सुरु गरेका गौतमले लामो समयदेखि नेपाली कांग्रेसको संगठन विस्तार र श्रमिक तथा यातायात क्षेत्रका पेशागत व्यक्तिहरूलाई पार्टीसँग जोड्ने काम गर्दै आएको दाबी गरेका छन् ।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा मकवानपुर क्षेत्र नं १ का क्षेत्रीय प्रतिनिधिहरूको मत र अग्रज नेताहरूको आशीर्वाद प्राप्त हुने विश्वाससहित महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने निर्णय गरेको गौतमले बताएका छन् । गौतमले पार्टीमा निरन्तर गरेको योगदानको मूल्यांकन गर्दै क्षेत्रीय प्रतिनिधिहरूले आफूलाई अवसर दिने विश्वास व्यक्त गरेका छन् ।