काठमाडौँ, ७ साउन । ठमेल पर्यटन विकास परिषद्को नवनिर्वाचित नेतृत्वले औपचारिक रूपमा पदभार ग्रहण गरेको छ ।
गत असार २७ गते भएको निर्वाचनमा विजयी राजुमान डंगोलसमूहले आज औपचारिक रुपमा पदभार ग्रहण गरेको हो ।
उक्त निर्वाचनमा अध्यक्ष डंगोलसहित प्रथम उपाध्यक्षमा राजीव पाण्डे, द्धितीय उपाध्यक्षमा दावाङ (दावा) तामाङ, तृतीय उपाध्यक्षमा रमेश थापा विजयी भएका थिए ।
यस्तै, महासचिवमा पशुपति कँडेल, सचिवमा दिलिप कँडेल, कोषाध्यक्षमा किन्चु लामु भुटिया (श्रेष्ठ) विजयी भएका थिए । यस्तै, सदस्यमा सुरेन्द्र डङ्गोल, बालकृष्ण खनाल, सानुकाजी महर्जन, रोशन प्रधान (श्रेष्ठ), विश्वमान प्रधान, लिजा मानन्धर, कृष्णबहादुर सेढाईं र चन्द्रा तामाङ विजयी भएका थिए ।
उनीहरुलाई प्रमुख निर्वाचन अधिकृत हरिप्रसाद पंगेनीले पद तथा गोपनीयताको शपथग्रहण गराए । पदभार ग्रहणपछि नवनिर्वाचित अध्यक्ष राजुमान डंगोलले ठमेल क्षेत्रको पर्यटन प्रवद्र्धन, व्यवसायीहरूको हित संरक्षण तथा पर्यटनमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
उनले ठमेल नेपालको प्रमुख पर्यटकीय गन्तव्य भएकाले यसको गरिमा अझ उचो बनाउन सबै व्यवसायी, सरोकारवाला निकाय तथा सरकारी निकायसँग सहकार्य गर्दै काम गर्ने बताए । अध्यक्ष डंगोलले ठमेललाई सुरक्षित, व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय केन्द्रका रूपमा विकास गर्न परिषद्ले विशेष योजना अघि बढाउने उल्लेख गरे ।
“ठमेलको पर्यटन व्यवसायलाई नयाँ उचाइमा पु¥याउन परिषद् सबै पक्षसँग हातेमालो गर्दै अघि बढ्नेछ। व्यवसायीहरूको हकहित संरक्षण, पर्यटन प्रवद्र्धन र ठमेलको समग्र विकास हाम्रो पहिलो प्राथमिकता हुनेछ,”– उनले भने ।
यस्तै, नवनिर्वाचित महासचिव पशुपति कंडेलले नवनिर्वाचित कार्यसमितिले संस्थागत सुशासन, पारदर्शिता र व्यवसायीमैत्री कार्यक्रमलाई प्राथमिकतामा राख्ने बताए । उनले परिषद्को कार्यलाई अझ प्रभावकारी बनाउन सदस्यहरूको सक्रिय सहभागिता सुनिश्चित गरिने र पर्यटन पुनरुत्थानका लागि विभिन्न सिर्जनात्मक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।
“परिषद्लाई अझ सशक्त र घरधनी तथा व्यवसायीको साझा संस्थाका रूपमा स्थापित गर्दै पर्यटन क्षेत्रको दिगो विकासका लागि योजनाबद्ध रूपमा काम गर्नेछौं। सबै व्यवसायीको साथ, सहयोग र सुझावलाई हामी उच्च महत्व दिनेछौं,”– महासचिव कंडेलले भने ।
कार्यक्रममा नेपाल पर्यटन वोर्डका सदस्य सहदेव धमला, परिषद्का निवर्तमान अध्यक्ष धुब्र अधिकारी, पूर्वअध्यक्ष भविश्वर शर्मा, पूर्वअध्यक्ष समिर गुरुङ, निवर्तमान महासचिव बद्री तिमल्सिनालगायतको उपस्थिति रहेको थियो ।
सहभागीहरूले नवनिर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै ठमेलको पर्यटन विकासमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए ।






















