Home ब्रेकिङ कांग्रेसको १५औँ महाधिवेशनलाई प्रविधिमैत्री बनाइने

कांग्रेसको १५औँ महाधिवेशनलाई प्रविधिमैत्री बनाइने

0
43

काठमाडौँ, २६ जेठ । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमा आधारित बनाउने भएको छ । कांग्रेस सदस्यता व्यवस्थापन समितिका संयोजक एवं महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा आज बसेको बैठकमा सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरुराज घिमिरेलगायत शीर्ष नेताको बैठकले उक्त निर्णय लिएको हो ।

कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यका लागि आगामी जेठ २८ गतेसम्मको समयलाई अन्तिम म्याद ९डेडलाइन० तोकेको छ । बैठकले १५औँ महाधिवेशनमा सहभागी हुनका लागि हरेक क्रियाशील सदस्यसँग डिजिटल परिचयपत्र हुनु अनिवार्य गरेको छ । पार्टीको डिजिटल प्रणालीमा हालसम्म सात लाख ८२ हजार २०९ जना योग्य क्रियाशील सदस्यमध्ये चार लाख १७ हजार ७५३ जना आबद्ध भइसकेको र ९८ हजार १४३ जना अद्यावधिक प्रक्रियामा रहेको कांग्रेसले जनाएको छ ।

कांग्रेसले पार्टी अनुशासनविपरीत काम गर्नेको हकमा कठोर नीति अख्तियार गरेको छ । पार्टीको कारबाहीमा परेका, अन्य दलमा प्रवेश गरेका, बागी उम्मेदवारी दिएका वा बागीका प्रस्तावक र समर्थक बनेका व्यक्तिको सदस्यता केन्द्रीय अभिलेखबाटै हटाइने निर्णय बैठकले गरेको हो ।

यस्तै, कसैले अनधिकृत रूपमा अरूको सदस्यता अद्यावधिक गरेको पाइएमा छानबिन गरी त्यस्तो सदस्यता बदर गरिने बताइएको छ । पार्टीका केन्द्रीय पदाधिकारी, प्रदेश कार्यसमिति, जिल्ला, क्षेत्र, पालिका तथा वडा तहका पदाधिकारीका साथै सङ्घीय संसद्, प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिलाई जेठ २७ गतेभित्रै अनिवार्य रूपमा आफ्नो सदस्यता अद्यावधिक गर्न निर्देशनसमेत बैठकले दिइएको छ ।

साथै, इन्टरनेटको पहुँच कम भएका हिमाली तथा उच्च पहाडी जिल्लाको हकमा भने जिल्लाबाट तहगत सिफारिसका आधारमा विवरण मगाइ अद्यावधिक गर्ने व्यवस्था मिलाइएको जनाएको छ । बैठकले नयाँ क्रियाशील सदस्यता वितरण कार्यलाई पनि विधानबमोजिम निर्वाध रूपमा अघि बढाउन पार्टीका सबै तहलाई निर्देशन दिएको छ । नयाँ सदस्यताका लागि अनलाइन फाराम भरी वडा र क्षेत्रबाट सिफारिस भएर आउनुपर्ने प्रक्रिया तोकिएको कांग्रेसले जनाएको छ ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here