काठमाडौँ, २५ जेठ । संयुक्त राष्ट्र सङ्घका पूर्वराजदूत प्राडा जयराज आचार्यले नेपाली भाषा र साहित्यको उत्थानमा नेपाली शिक्षा परिषद्को महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।
नेपाली शिक्षा परिषद्को ‘अमृत महोत्सव’ वर्षका अवसरमा शनिबार यहाँ आयोजित नेपाली भाषाको विकासमा नेपाली शिक्षा परिषद्को योगदान विषयक प्रवचन समारोहमा बोल्दै उहाँले नेपाली भाषाको विकासमा स्थापनाकालदेखि नै शिक्षा परिषद्ले खेलेको भूमिका सराहनीय रहेको बताउनुभएको हो ।
विस २००७ सालको क्रान्तिपछि प्रजातन्त्रको आगमनसँगै स्थापना भएको ‘नेपाली शिक्षा परिषद्’ ले नेपाली भाषा र साहित्यको विकासमा सात दशकभन्दा लामो समयदेखि निरन्तर योगदान पु¥याउँदै आएको उहाँले बताउनुभयो ।
विस २००८ सालमा स्थापना भएको परिषद्ले नेपाली भाषालाई शिक्षाको माध्यम बनाउन महत्वपूर्ण पहल गरेको उहाँको भनाई थियो । परिषद्ले एसएलसी को समानान्तर १० कक्षासम्मको ‘प्रवेशिका परीक्षा’ नेपाली माध्यमबाट सञ्चालन गर्ने व्यवस्था मिलाएको र जसबाट उत्तीर्ण भएका जनशक्तिले नेपालको सार्वजनिक जीवनमा ठूलो प्रभाव पारेको उहाँले बताउनुभयो ।
साहित्यिक र सांस्कृतिक प्रवद्र्धनका क्षेत्रमा पनि परिषद्को भूमिका उल्लेखनीय रहेको उहाँको भनाई थियो । तनहुँको चुँदी रम्घामा आदिकवि भानुभक्त आचार्यको जन्मस्थलमा स्मृति भवन र संग्रहालय निर्माण गर्न यस संस्थाले नै प्रेरणा दिएको उहाँले स्मरण गर्नुभयो । यस्तै, तिब्बतको ल्हासामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको मूर्ति स्थापना गरेर नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पनि जोड्ने काम यसले गरेको उहाँले बताउनुभयो ।
परिषद्ले विभिन्न साहित्यिक जर्नल र पत्रपत्रिकाको प्रकाशन गर्नुका साथै नेपाली साहित्यका साधकलाई सम्मान गर्न ‘भानु पुरस्कार’ जस्ता प्रतिष्ठित पुरस्कार पनि प्रदान गर्दै आएको आचार्यले बताउनुभयो ।
नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्माले नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा यस परिषद्को भूमिका अतुलनीय रहेको बताउनुभयो । उहाँले नेपाली भाषा र साहित्यको विकासमा लागेको सबैभन्दा पुरानो संस्था नेपाल शिक्षा परिषद् भएकाले यसको संरक्षण र प्रवद्र्धनमा लाग्नुपर्ने उल्लेख गर्नुभयो ।
























