काठमाडौँ, १४ जेठ । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका, रोलवालिङका अनुभवी पर्वतारोही पासाङ किदर शेर्पाले हालै सगरमाथाको सफल आरोहण गरेर फर्किएका छन्।
सन् १९९५ देखि पर्वतारोहण क्षेत्रमा लागेका शेर्पाले हालसम्म १५ पटक सगरमाथा आरोहण गरिसकेका छन् भने ८ पटक सफल रूपमा शिखरमा पाइला टेकेका छन्।
भर्खरैको आरोहणपछि आफ्नो अनुभव साट्दै शेर्पाले सगरमाथामा जलवायु परिवर्तन र बढ्दो प्रदूषणप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। १३ वर्षको अन्तरालपछि पुनः ८,००० मिटरभन्दा अग्ला हिमाल चढ्न थालेका उनले विगत र वर्तमानको सगरमाथामा आकाश-जमिनको फरक पाएको बताए।
शेर्पाका अनुसार जलवायु परिवर्तनले गर्दा सगरमाथाका हिमनदी र हिउँ पग्लिने क्रम तीव्र भएको छ। “पहिले बेस क्याम्प आसपास १५ देखि २० मिटर सम्मका अग्ला ‘आइस’ (बरफका ढिक्का) हरू देखिन्थे भने अहिले ती खुम्चिएर ६ देखि ८ मिटरमा सीमित भएका छन्,” उनले भने। जलवायु परिवर्तनका कारण हिमालको स्वरूप नै परिवर्तन हुँदै गएको उनको अनुभव छ।
पर्वतारोहणको क्रममा सगरमाथाको साउथ कोल र क्याम्प-३ क्षेत्रमा निकै धेरै फोहोर जम्मा भएको उनले बताए। हिमाल सफा राख्नु सबैको दायित्व भए पनि सरकारी निकाय र सम्बन्धित सरोकारवालाहरूले यसमा पर्याप्त ध्यान नदिएको उनको गुनासो छ। सरकारी प्रतिनिधिहरू बेस क्याम्पमा आएर फोटो र सेल्फी खिच्नमा मात्र सीमित हुने तर फोहोर व्यवस्थापनमा प्रभावकारी काम नगर्ने उनको आरोप छ।
यस वर्ष शेर्पाले हिमालयन शेर्पा एडभेन्चरमार्फत ‘ब्रिटिस आर्मी एक्सिपडिसन’ (British Army Expedition) को नेतृत्व गर्दै मे २३ मा सगरमाथाको सफल आरोहण गरेका थिए। उक्त टोलीमा ५ जना गाइड, १० जना क्लाइम्बिङ गाइड र १३ जना सदस्यहरू थिए, जसमध्ये ९ जना सदस्यहरूले सफल आरोहण गरेका थिए।
पहिलेको तुलनामा हिमाल चढ्ने प्रविधि र गाइडहरूको भूमिकामा सुधार आएको र हिलारी स्टेप जस्ता कठिन ठाउँहरू पनि अहिले केही सहज भएको उनले बताए। तर, हिमालमा बढ्दो भीड र वातावरणीय सन्तुलन कायम राख्नु नै अहिलेको मुख्य चुनौती रहेको उनको निष्कर्ष छ।






















