Home ब्रेकिङ पछाडि पारिएकाको सच्चा पहरेदार बन्न समानुपातिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह

पछाडि पारिएकाको सच्चा पहरेदार बन्न समानुपातिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह

0
23

काठमाडौँ, २ वैशाख । प्रधानमन्त्री वालेन्द्र शाहले समानुपातिक सांसदहरूलाई कुनै एउटा क्षेत्र विशेषमा मात्र सीमित नरही देशभरका उत्पीडित र पछाडि पारिएका ‘क्लस्टर’को सच्चा पहरेदार बन्न आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्री कार्यालयमा आज भएको छलफलमा उहाँले समानुपातिक सांसदको भूमिकालाई राष्ट्रिय मूलधार र समुदायको सेतुको रूपमा व्याख्या गर्नुभयो ।

प्रधानमन्त्री शाहले सांसदलाई स्पष्ट कार्यदिशा दिँदै भन्नुभयो, “तपाईँको पहिलो प्राथमिकता आफ्ना क्लस्टरका मुद्दा उठाउनु हो, त्यसपछि राष्ट्रिय कानुन निर्माणमा केन्द्रित हुनुहोस् र समग्र देशको विकासमा ध्यान दिनुहोस् । प्रत्यक्ष निर्वाचित सांसद एउटा क्षेत्रमा बाँधिएका हुन्छन्, तर तपाईँहरु देशभरका आफ्ना क्लस्टरका लागि आशाको केन्द्र हुनुहुन्छ ।”

छलफलका क्रममा केही सांसदले प्रत्यक्ष र समानुपातिकबीच भेदभाव हुने गरेको गुनासो गरेपछि प्रधानमन्त्रीले त्यसलाई प्रस्ट्याउँदै भन्नुभयो, “यसलाई विभेदका रूपमा नबुझिदिनुहोस् । यो छुट्टै छलफल तपाईँहरूका क्लस्टरका समस्यालाई गहिराइमा पुगेर सुन्न र स्पष्ट ध्यानाकर्षण गराउनका लागि गरिएको हो । यो भेदभाव होइन, बरु तपार्इँले बोक्ने विशिष्ट मुद्दालाई न्याय गर्ने प्रयास हो ।”

प्रधानमन्त्री शाहले आगामी पाँच वर्षसम्म निरन्तर सहकार्यको प्रतिबद्धता जनाउँदै समस्या समाधानमा प्रविधिको प्रयोगमा जोड दिनुभयो । छलफलमा उठेका तात्कालिक विषयमा ‘फलोअप’ गरिने र आगामी दिनमा आवश्यक सुझाव तथा समन्वयका लागि ‘डिजिटल माध्यम’बाट सधैँ खुला रहने उहाँको भनाइ थियो ।

समानुपातिक प्रणालीले संसद्लाई पूर्ण र समावेशी बनाउने उहाँको धारणा थियो । प्रधानमन्त्री शाहले सांसदलाई कानुन निर्माण र संसदीय समन्वयमा निर्धक्क भएर प्रभावकारी भूमिका निर्वाह गर्न अनुरोध गर्नुभयो ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here