काठमाडौं, १६ चैत । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले अध्यक्ष पदबाट राजीनामा दिएका छन् । कार्यकारी अध्यक्ष झाले आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री डा। विक्रम तिमिल्सिनालाई आफ्नो राजीनामापत्र बुझाएका हुन् ।
राजीनामा पत्रमा नेपाल सरकारको निर्णयबमोजिम आफू राससको कार्यकारी अध्यक्ष पदमा नियुक्त भएको उल्लेख गर्दै झाले कार्यकालमा आफूले संस्थाको सवोत्तम हितमा काम गरेको बताएका छन् ।
‘म उक्त पदमा नियुक्त भएपछिका दिनमा मेरो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म पत्रकारिताको मूल्य(मान्यताको अनुशरण गर्दै राससको सर्वोत्तम हित प्रवर्द्धनका दिशामा कृयाशील रहँदै आएको छु,’ राजीनामा पत्रमा उनले भनेका छन् ।
यस्तै उनले देशको परिवर्तित राजनीतिक परिवेशलाई आत्मसात गरेको पनि बताएका छन् । ‘नवगठित सरकारले आफ्नो अनुकूलताका आधारमा कार्यसञ्चालन गर्नुपर्छ भन्ने मान्यता राख्छु र सरकारको सफलताको कामना गर्दछु,’ झाले राजीनामा पत्रमा लेखेका छन् । आफूले नैतिकताको दृष्टिले मार्ग प्रशस्त गर्नु उचित हुने ठानेर पदबाट राजीनामा गरेको बताएका छन् ।





















