Google search engine
Home पर्यटन फेक रेस्क्यू प्रकरण : ३२ जनालाई प्रतिवादी बनाउँदै अदालतमा मुद्दा दर्ता, १...

फेक रेस्क्यू प्रकरण : ३२ जनालाई प्रतिवादी बनाउँदै अदालतमा मुद्दा दर्ता, १ अर्ब बिगो दाबी

0
15

काठमाडौँ, ८ चैत । फेक रेस्क्यू प्रकरणमा संलग्नहरूविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । नेपाल घुम्न आएका विदेशी पर्यटकको उद्धारपछि उपचार गरेको नक्कली कागजात बनाएर बीमा रकम दाबी गरेको घटनामा संलग्नविरुद्धको आइतबार मुद्दा दर्ता भएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गत चैत १ गते जिल्ला सरकारी वकिलमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन अध्ययन गरेर सरकारी वकिल कार्यालयले आइतबार ३२ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो । सरकारी वकिल कार्यालयले उनीहरूविरुद्ध एक अर्बभन्दा बढी बिगो मागदाबी गरेको छ ।

सरकारी वकिल कार्यालयले पक्राउ परेका ९ जना र बाँकी २३ जना फरार प्रतिवादीविरुद्ध राष्ट्रहित प्रतिकूलको कसुर, आर्थिक लाभ, लिखतसम्बन्धी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरेको हो ।

उनीहरूविरुद्ध एक अर्ब ३० करोड ४२ हजार रुपैयाँको बिगो दाबी लिइएको छ । जसमध्ये ९४ करोड ८४ लाख ९७ हजार ३९१ नेपाली रुपैयाँ, २९ लाख ९८ हजार ८२३ अमेरिकी डलर र १४ हजार पाँच सय युरो रहेको छ ।​

सीआईबीले गरेको यो अनुसन्धान सन् २०२२ देखियता भएका फेक रेस्क्यू घटनाको हो । २०२२ जनवरीमा प्रतिअमेरिकी डलर ११८ रुपैयाँ थियो भने प्रतियूरो १३० रुपैयाँ थियो । यसलाई आधार मान्दा पक्राउ परेका प्रतिवादीविरुद्ध बिगो रकमको कुल परिमाण एक अर्ब ३० करोड ४२ लाख ४३ हजार ५०५ रुपैयाँ हुन आउँछ ।

सरकारी वकिल कार्यालयले एभरेष्ट एक्सपिरियन्स एन्ड असिस्टेन्ट प्रालिका अध्यक्ष मुक्तिनारायण पाण्डे, एभरेष्टकै शेयरधनी सुवास केसी, माउण्टेन रेस्क्यू सर्भिस प्रालिका मेनेजर विवेक पाण्डे, माउण्टेनकै अध्यक्ष एवं स्वाकोन इन्टरनेश्नल हस्पिटल प्रालिका शेयरधनी जयराम रिमाल, नेपाल कार्टर सर्भिस प्रालिका अध्यक्ष रवीन्द्र अधिकारी, श्रीद्धि इन्टरनेश्नल हस्पिटलका सञ्चालक डा। गिर्वाणराज तिमिल्सिना, रोयल होलिडेज एडभेन्चर प्रालिका सञ्चालक सन्दीप तिवारी र पानोरमा हिमालयन ट्रेकिङ एन्ड एक्सपेन्डिस प्रालिका शेयरधनी पासाङ शेर्पालाई प्रतिवादी बनाएको छ ।

त्यस्तै, अनुपस्थित रहेका नेपाल कार्टर सर्भिस प्रालिका मेनेजर विवेकराज थपलिया र अन्य फरार २३ जनालाई पनि कार्यालयले प्रतिवादी बनाएको छ ।

उच्चस्तरीय नागरिक उड्डयन सुधार कार्यदलका सदस्य र माउण्टेन एयरका सीईओ राजेन्द्रबहादुर सिंहलाई भने सरकारी वकिल कार्यालयले प्रतिवादी बनाएको छैन ।

सरकारी वकिल कार्यालयले ८ दिन अध्ययन गरेर सीआईबीको प्रतिवेदन काँटछाँट गरी प्रमाणसमेत निकालेर सिंहलाई जोगाएको देखिन्छ ।​ सीआईबीले भने सिंहलाई पनि प्रतिवादी कायम गर्दै आफ्नो प्रतिवेदन बुझाएको थियो ।

यस्तै, तीन वटा उद्धार कम्पनीहरू क्रमशः माउण्टेन रेस्क्यू, एभरेष्ट एक्सपिरियन्स र नेपाल कार्टरले हेलिकप्टर कम्पनीसँगको मिलेमतोमा पर्वतारोहण, पदयात्रा तथा उच्च हिमाली पर्यटनमा आउने विदेशीलाई लक्षित गरी फेक रेस्क्यू गर्दै आएको अभियोग पत्रमा उल्लेख छ ।

फेक रेस्क्यू गरेर विदेशी बीमा कम्पनीमा बीमा दाबी गरी करोडौं रुपैयाँ अनियमितता गरेको अभियोग पत्रमा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here