काठमाडौँ, ८ चैत । ललितपुरमा इट्टाभट्टाको पर्खाल भत्किएर एक महिलाको मृत्यु भएको छ ।
ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित होसना इँट्टाभट्टामा आज विहान इटाभट्टाको पर्खाल भत्किँदा पर्खालले किचिएर रुकुम घर भएकी ५५ वर्षीय तिल्सरी खड्काको मृत्यु भएको हो ।
पर्खाल भत्किएर गम्भीर घाइते खड्काको ठैबस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी वृत्त सातदोबाटोकी प्रमुख, प्रहरी नायव उपरीक्षक ९डिएसपी० पूर्णिमाकुमारी चन्दले जानकारी दिनुभयो ।
उक्त घटनामा चार जना घाइते भएका छन् । घाइते हुनेमा रुकुम घर भई सोही इँट्टाभट्टामा काम गर्ने २७ वर्षीय जानकी चन्द, सल्यानकी २७ वर्षीय शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीय नन्दकुमारी मगर र दाङकी १९ वर्षीय सुमा कुमाल रहेका छन् ।
गम्भीर घाइते चन्दलाई भने थप उपचारका लागि मोडल अस्पताल रिफर गरिएको डिएसपी चन्दले बताउनुभयो । घटनास्थलमा अहिले प्रहरी वृत्त सातदोबाटोबाट प्रहरी टोली खटिएर उद्दार गरिरहेको छ ।























