नेपालले छिमेकीसँगको सम्बन्ध सुमधुर राख्नुपर्छ : पूर्व परराष्ट्रमन्त्री कोइराला

0
41

काठमाडौँ, ७ चैत । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइराला नेपालले छिमेकी मुलुकसँगको सम्बन्ध राम्रो राख्नुपर्ने बताउनुभएको छ ।
शान्ति नायक गिरिजाप्रसाद कोइरालाको १५ औँ स्मृति दिवसका अवसरमा जिपी कोइराला फाउण्डेशन भक्तपुरले आज आयोजना गरेको माल्यार्पण कार्यक्रममा उहाँले सन्तुलित परराष्ट्र नीति नेपालले अबलम्बन गर्नुपर्ने बताउनुभएको हो ।

“छिमेकी मुलुकसँग राम्रो सम्बन्ध राख्यो भने मुलुकमा अस्थिरता आउँदैन, मुलुक बचाउनका लागि अस्थिरता समाप्त पार्नुपर्छ, अरु मुलुकसँग पनि समान व्यवहार गर्नुपर्छ, कसैको पक्ष र कसैको विपक्षमा हामी लाग्नुहुँदैन,”–उहाँले भन्नुभयो । नेपालले पञ्चशीलको सिद्दान्तलाई टेकेर अगाडि बढ्नुपर्ने नेत्री कोइरालाको भनाई थियो ।

नेत्री कोइरालाले सहमति, सहकार्य र एकतामार्फत सबै दललाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाबाबुको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । “आफ्नो पार्टीका सयौँ कार्यकर्ता माओवादीबाट मारिँदा र आफ्नो पार्टीले निर्वाचनमा हार्ने निश्चित हुँदापनि देश जोगाउनका लागि तत्कालिन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाबाबुले खेलेको भूमिका अहम रहेको थियो,”– नेत्री कोइरालाले भन्नुभयो । गिरिजाबाबु नभएको भए माओवादी शान्ति प्रक्रियामा नआउने उहाँको जिकिर थियो ।

उहाँले राष्ट्रप्रति जिम्मेवार पार्टी नेपाली कांग्रेस भएकाले कांग्रेसलाई एकतावद्ध बनाएर अगाडि बढाउनु जरुरी रहेको बताउनुभयो । कांग्रेस अहिलेपनि मुलुकमा बलियो शक्ति भएकाले निर्वाचन हार्देमा आत्तिनुपर्ने अवस्था नभएको नेत्री कोइरालाले बताउनुभयो । “कुनैपनि समस्याको समाधान कांग्रेसले गर्छ, विगतमा भएको गल्ती कमी कमजोरी महसुस गरेर अगाडि बढ्नुपर्छ,”– उहाँले भन्नुभयो ।
उहाँले मुलुकको विकासका लागि हाम्रा अग्रज नेता वीपी कोइराला, गणेशमान सिंह, सुवर्णशम्शेर राणा, कृष्णप्रसाद भठ्ठराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाले गरेको योगदानलाई सम्झनुपर्ने बताउनुभयो ।

उहाँले भोलिको नेपाल भनेको युवाहरुको भएकाले पार्टीका हरेक निकायमा युवा प्रतिनिधित्व आवश्यक रहेको बताउनुभयो । युवाहरुले इतिहासबाट पाठ सिकेर भविष्य निर्माणमा लाग्नुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, कांग्रेस नेता एवम् पूर्व सांसद सुनिल शर्मालगायतले नेपालको लोकतान्त्रिक आन्दोलनमा गिरिजाबाबुले खेलेको योगदानको चर्चा गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here