Home ब्रेकिङ चम्पादेवीमा नयाँवर्षको अवसरमा धार्मिक मेला

चम्पादेवीमा नयाँवर्षको अवसरमा धार्मिक मेला

0
28

काठमाडौँ, १ वैशाख । धार्मिक र पर्यटकीय महत्व बोकेको चम्पादेवीमा मेष सङ्क्रान्ति (नयाँवर्ष)का अवसरमा आज मेला लागेको छ । सत्ययुगमा शिशिर बुद्धले आफ्नो शिष्यहरुलाई ज्ञान दिएको स्थानका रुपमा रहेको चम्पादेवीमा चैत मसान्तको साँझदेखि भक्तजन जम्मा भएर जाग्राम बस्ने र पूजाआजा गर्ने परम्परा रहिआएको छ ।

कीर्तिपुर र दक्षिणकाली नगरपालिकाको सङ्गमस्थलमा रहेको चम्पादेवी मन्दिरमा दर्शन गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ । त्रेतायुगदेखि नयाँ वर्षको अवसरमा चम्पादेवीमा मेला लाग्ने गरेको चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाका अध्यक्ष जनक तामाङले बताउनुभयो ।

चैत मसान्तदेखि भीडभाड हुने उक्त ठाउँमा भक्तजन रातभर पाल टाँगेर बस्ने गरेका छन् । पहिले रातभर बत्ती बाल्ने परम्परा भए पनि उक्त परम्परा भने पछिल्लो समय हराउँदै गएको तामाङले बताउनुभयो ।

काठमाडौँ उपत्यकाको पानीको निकासा गर्ने क्रममा कपुरदह र चोभारको गल्छी काट्दा मञ्जुश्रीले आफ्नो कान्छी श्रीमती मोक्षदालाई चम्पादेवी डाँडोमा लगेर राखेको किंवदन्ती रहेको छ । चम्पादेवीलाई काठमाडौँ उपत्यकामा पानी पार्ने देवीका रूपमा समेत मानिन्छ ।

समुन्द्र सतहबाट दुई हजार २८३ मिटर उचाइमा रहेको चम्पादेवीमा प्रत्येक नयाँवर्षमा २० हजारभन्दा बढी भक्तजनले मेला भर्ने गरेका छन् । चम्पादेवी काठमाडौँ उपत्यकाभित्रको सबैभन्दा पुरानो ‘ट्रेकिङ’ रुट हो । यस्तै, विसं २०४० तिरै चम्पादेवीमा ‘प्याराग्लाइडिङ’ उडान गरिएको थियो ।

काठमाडौँको दक्षिणकाली नगरपालिकास्थित हात्तीवन, बोसन, कीर्तिपुर र चन्द्रागिरीबाट पुगिने चम्पादेवी पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको गन्तव्य बनेको छ । विसं २०७२ मा भूकम्पले क्षति पुगेको चम्पादेवी मन्दिर तथा त्यस आसपासको क्षेत्रको पुरातत्व विभागले पुनःनिर्माण गरेको हो । उक्त मन्दिर र त्यसवरपरको क्षेत्र पुनःनिर्माणका लागि रु २८ लाख खर्च भएको छ ।

पछिल्लो समय सहरसँग चम्पादेवीलाई जोड्नका लागि बोसन गाउँबाट चम्पादेवी मन्दिरसम्म केबुलकारसमेत निर्माण हुन लागेको छ । चम्पादेवीको फेन्ड्रली कम्पनीले दक्षिणकाली नगरपालिका–१ बोसनगाउँबाट कीर्तिपुर नगरपालिका–४ चम्पादेवी डाँडासम्म केबुलकार निर्माण गर्न लागेको हो ।

केबुलकार निर्माणका लागि वातावरणीय अध्ययनको काम अन्तिम चरणमा पुगेको अध्यक्ष तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार रु पाँच अर्ब लगानीमा निर्माण हुन लागेको उक्त केबुलकारको काम दुई वर्षभित्र पूरा हुनेछ ।

दुई किलोमिटर लम्बाइ भएको उक्त केबुलकारमा १२ टावर हुनेछन् भने मानिस बोक्ने ३४ गोण्डुला, सामान बोक्ने दुई गोण्डुला र मर्मतको सामान बोक्ने एक गोण्डुला हुनेछन् । केबुलकार निर्माण भएपछि बोसन गाउँबाट चम्पादेवी पुग्न सात मिनेट लाग्नेछ ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here