काठमाडौँ, १७ वैशाख । नेपालजस्तो कृषि प्रधान देशमा कृषिमा आधारित नीति बनाइनुपर्नेमा जोड दिइएको छ । एसोसिएसन अफ एग्रीकल्चर टेक्नोलोजी इण्डष्ट्री नेपालले आज यहाँ आयोजना गरेको ‘कृषि उद्योग उत्पादन राष्ट्रिय नीति संवाद’ कार्यक्रममा सरोकार भएकाहरूले कृषिलाई प्राथमिकता दिएर नीति निर्माण गरिनुपर्नेमा जोड दिनुभएको हो ।
कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले नीति बने पनि कार्यान्वयन फितलो भएकाले कृषिमा प्रभावकारी काम हुन नसकेको बताउनुभयो । “केही वर्षअघि नेपालबाट खाद्यान्न निर्यात हुन्थ्यो, अहिले आयात गर्छौं । यसमा हामी कहाँ चुक्यौँ, समीक्षा हुनुपर्छ । वास्तविक किसानले अनुदान नपाउँदा पनि कृषि क्षेत्रको विस्तार हुन सकेको छैन”, उहाँले भन्नुभयो ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले आयातमा निर्भर कृषि प्रणाली भएर समस्या भएकाले यस विषयमा सरोकार भएका निकायका प्रतिनिधिसँग आवश्यक छलफल गरिने बताउनुभयो । स्वदेशमै कृषि उद्यम गरेर जीविकोपार्जन गर्नसक्ने वातावरण बनाउने गरी काम गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“कृषिमा प्रविधि पनि जोडेर लैजाने गरी नीति र कानुन बनाइनुपर्छ, कृषिलाई उद्योगसँग जोडेर लैजानुपर्ने आवश्यकता छ । स्वदेशी उत्पादनलाई प्रवर्द्धन र संरक्षण गर्ने गरी नीति, कानुन बनाएर कृषि क्षेत्रलाई अघि बढाउने र किसानलाई प्रोत्साहन गर्ने योजना बनाउने छौँ”, सभापति चौधरीले भन्नुभयो ।
समिति सदस्यसमेत रहनुभएकी सांसद गङ्गालक्ष्मी अवालले वातावरणमैत्री र प्राङ्गारिक कृषिप्रणाली विकास गरिनुपर्नेमा जोड दिनुभयो । किसानलाई हेयको दृष्टिले हेर्ने परम्पराको अन्त्य गरी अन्नदातालाई सबैभन्दा माथिल्लो चरणको मान्ने गरी काम गरिनुपर्ने उहाँको भनाइ छ ।
कानुन, न्याय तथा मानवअधिकार समितिका सदस्यसमेत रहनुभएका सांसद मदनकृष्ण श्रेष्ठले नेपालमा ६२ प्रतिशत कृषिमा निर्भर जनसङ्ख्या रहेकाले कृषिसम्बन्धी कानुन र नीति मस्यौदामा विशेष ध्यान दिने प्रतिबद्धता जनाउनुभयो । अहिले सबैभन्दा राम्रो सम्भावना भएको क्षेत्र कृषि हो उहाँले भन्नुभयो ।
कृषि समिति सदस्यसमेत रहनुभएकी सांसद गीता लिङ्देनले कृषि क्षेत्रमा देखिएका समस्या समाधानमा काम गर्ने वाचा गर्नुभयो । आयोजक समितिका अध्यक्ष खोजराज कटुवालले कृषि नीति उत्पादन र उद्योगमैत्री बनाइनुपर्ने माग गर्नुभयो । सरकारले कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण भनेर ट्याक्टर बाँड्न थालेको १५ वर्ष पूरा भइसक्दा एउटा पनि यस्ता यन्त्र बनाउने कृषि उद्योगसमेत खोल्न नसक्नु दुःखद् भएको उहाँको भनाइ छ ।





















