काठमाडौँ, १ जेठ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले प्रसारण लाइनको अभावमा विद्युत खेर जाने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
मन्त्री श्रेष्ठले आज राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयको अवलोकन गर्दै प्रसारण लाइनको अभावका कारण उत्पादित विद्युत खेर जाने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभएको हो ।
“प्रसारण लाइनको अभावमा उत्पादित विद्युत खेर जाने अवस्थाको अन्त्य हुनुपर्छ, सरकार तपाईँहरूको साथमा छ, परिणाममुखी भएर काम गर्नुहोस्,”– मन्त्री श्रेष्ठले भन्नुभयो । उहाँले मुलुकको समग्र ऊर्जा विकासका लागि प्रसारण पूर्वाधार निर्माण नै सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभयो ।
मन्त्री श्रेष्ठले कम्पनीलाई स्पष्ट खाकासहित अगाडि बढ्न र निर्धारित लक्ष्य समयमै प्राप्त गर्न निर्देशन दिनुभयो । कम्पनीको कार्यसम्पादनमा आवश्यक पर्ने बजेट तथा दक्ष जनशक्तिको कुनै पनि कमी हुन नदिने उहाँले बताउनुभयो ।
उहाँले कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै सरकारले आवश्यक सबै सहयोग उपलब्ध गराउने आश्वासन दिनुभयो । सो अवसरमा राष्ट्रिय प्रसारण ग्रीड कम्पनीका प्रमुख कार्यकारी अधिकृत सागर श्रेष्ठले नेपालको जलविद्युत क्षेत्रको विकास र ऊर्जा सुरक्षा सुनिश्चित गर्न प्रसारण ग्रिडले काम गरिरहेको बताउनुभयो ।
अवलोकनमा मन्त्रालयका उर्जा सचिव चिरञ्जीवी चाटौत, प्रशासन शाखा प्रमुख रुद्रसिंह तामाङलगायतको सहभागीता रहेको थियो ।























