Home ब्रेकिङ पण्डित दिनबन्धु पोखरेलद्धारा सुनसरी घटनाप्रति गम्भीर चिन्ताः सामाजिक सद्भाव र सुरक्षाका लागि...

पण्डित दिनबन्धु पोखरेलद्धारा सुनसरी घटनाप्रति गम्भीर चिन्ताः सामाजिक सद्भाव र सुरक्षाका लागि अपील

0
18

काठमाडौँ, १३ साउन । वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलले सुनसरीमा हालै घटेको दुःखद एवं पीडादायी घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र भाइचारा कायम राख्न अपील गर्नुभएको छ ।

पण्डित पोखरेलले आज सामाजिक सञ्जाल फेसबुकमार्फत एक विज्ञप्ति जारी गर्दै समाजमा मानवता, सहिष्णुता र आपसी प्रेममा ह्रास आएको भन्दै दुःख व्यक्त गर्नुभएको हो ।

‘वसुधैव कुटुम्बकम्’ को आदर्श बोकेको समाजमा कुनै पनि आस्थासँग जोडिएका नागरिकको हत्या हुनु अत्यन्तै पीडादायी भएको पोखरेलले उल्लेख गर्नुभएको छ । विशेषगरी सनातनीहरूको उद्भव भूमिमा नै सनातनीहरू असुरक्षित हुनु र प्राचीन सभ्यता एवं मूल्य–मान्यतामाथि प्रहार हुनु विडम्बनापूर्ण रहेको उहाँको ठहर छ ।

आफ्ना पिता एवं वाचन शिरोमणि पण्डित नारायणप्रसाद पोखरेलको हत्या हुँदाको क्षण स्मरण गर्दै उहाँले भन्नुभएको छ, “हामी सनातनीहरूमा एकता र सामंजस्यता छैन भन्ने ज्वलन्त उदाहरण हाम्रा पिताजीको देहावसान गराइँदा नै अनुभूति भएको हो । त्यतिबेला हामीले कुनै धार्मिक संघ–संस्थाको साथ पाएनौं ।“ पीडित सधैँ पीडामा मात्र सीमित हुनुपर्ने र मल्हम लगाउने कोही नहुने अवस्थाको अन्त्य हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

देशमा द्वन्द्व नभई मानवता र प्रेमको खाँचो रहेको औंल्याउँदै पण्डित पोखरेलले यो विषम परिस्थितिमा ’देश रहे मात्र हामी रहन्छौँ’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्न आग्रह गर्नुभएको छ । उहाँले नेपाल सरकार, राजनीतिक दल, धार्मिक संघ–संस्था, मानवअधिकारवादी, सञ्चार जगत् र आम नागरिकलाई संयमित हुन अपील गर्नुभएको छ ।

“हामीले उत्तेजक अभिव्यक्ति दिएर समाज भड्काउने काम कसैले पनि नगरौँ,“ विज्ञप्तिमा भनिएको छ, “वास्तविक दोषीमाथि कडा कारबाही होस् ताकि आगामी दिनमा यस्ता कहालीलाग्दा घटना नदोहोरिउन् ।“

पण्डित पोखरेलले राज्यले रैथाने संस्कार र संस्कृतिको जगेर्ना गर्दै सबै नागरिकले सुरक्षित रूपमा आफ्नो कर्म गर्न पाउने वातावरण निर्माण गर्नुपर्ने माग गर्नुभएको छ । नेपाललाई विश्वसामु ’शान्ति क्षेत्र’ का रूपमा चिनाउन सबैको सामूहिक प्रयास आवश्यक रहेको उहाँको सन्देशमा उल्लेख छ ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here